असल बचतकर्तालाई सम्मान गरिँदै ।

हेटौंडाः हेटौंडा–५, पिप्लेस्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २४ करोड रुपैयाँ लगानी गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को अन्त्यसम्ममा सहकारीले २४ करोड १५ लाख रुपैयाँ ऋण लगानी गरेको जनाएको छ ।

शनिबार सम्पन्न सहकारीको २१ औं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार सहकारीको सेयर पुँजी ३ करोड २१ लाख रुपैयाँ पुगेको छ । सहकारीमा ३ हजार २ सय ४४ जना सेयर सदस्य छन् । निर्वाचन आचारसंहिता लागु भइसकेकाले औपचारिक कार्यक्रम नगरी साधारणसभाको अन्य प्रक्रिया सम्पन्न गरिएको थियो । सहकारीकी अध्यक्ष जानकी चौधरीले संस्थाको बार्षिक प्रतिवेदन पेश गर्नुहुँदै आगामी दिनमा राज्यका निकायसँग सहकार्य गरेर विभिन्न कार्यक्रम गर्ने जानकारी दिनुभयो । साधारणसभामा विभिन्न समिति तथा उपसमितिका संयोजकहरुले प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभाको अवसरमा १५ जना ज्येष्ठ सदस्य, ५ जना असल बचतकर्ता, २ जना असल ऋणीसहित सदस्य परिवारमध्येबाट उत्कृष्ट नतीजा ल्याई कक्षा ८, एसईई, कक्षा १२ र स्नातक तह उत्तीर्ण गर्ने विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । सहकारीका निमित्त प्रमुख प्रकाश बहादुर खनाललाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ ।