हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा आज २७ जनाको र्यापिड डाइग्नोष्टिक टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । हेटौंडाको दुई ओटा वडामा आज बिहान आरडीटी परीक्षण गरिएकोमा दुवै वडामा परीक्षण गरिएका सबै नतिजा नेगेटिभ आएको हो ।
हेटौंडाको वडा नम्बर ७ र ८ मा विदेशबाट फर्किएका २७ जनाको र्यापिट डाग्नोष्टिक टेष्ट गरिएको हो । वडा नम्बर ७ मा ९ र वडा नम्बर ८ मा १८ जनाको परीक्षण गरिएको नगरपालिकाका जनस्वास्थ्य प्रमुख भोला चौलागाइले जानकारी दिनुभयो । हिजो पनि हेटौंडा ९ मा १८ जनाको र्यापिड टेष्ट गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको थियो । यसअघि हेटौंडा उपमहानगरपालिकाका १६, १७ र १८ नम्बर वडा कार्यालयमा आरडीटी गरिएको थियो । मकवानपुरको दश वटै स्थानिय तहमा विदेशबाट आएकाहरुको र्यापिड टेष्ट जारी रहेको छ । मकवानपुरको दशवटै स्थानिय तहमा गरेर आजसम्म ३ सय ५३ जनाको र्यापिड टेस्ट गरिएको छ । टेस्ट गरिएको मध्य ४ जनाको रिर्पोट पोजेटिभ देखिएपनि पिसिआर टेस्टमा भने नेगेटिभ रिपोर्ट आएको छ ।