सांकेतिक तस्वीर । स्रोतः गुगल ।

हेटौंडाः हेटौंडा–१, भैरवडाँडा क्षेत्रमा बाघ बास बस्न थालेको छ । आइतबार बिहान साढे ११ बजे एउटा बाख्रा र एउटा खसीको सिकार गरेको बाघ सोमबार साँझ पनि भैरवडाँडा क्षेत्रमा देखिएको स्थानीय नवराज तिमल्सिनाले जानकारी दिनुभयो ।

आइतबार दुई डमरुसहित देखिएको बाघ सोमबार साँझ एक्लै देखिएको तिमल्सिनाले बताउनुभयो । आइतबार देखिएको बाघ सोमबार पनि देखिएपछि स्थानीय त्रसित भएको स्थानीय नवराज तिमल्सिनाले बताउनुभयो । मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले भैरवडाँडा क्षेत्रमा बाघ देखिएको पुष्टि गर्नुभएको छ । भैरवडाँडास्थित अस्थायी प्रहरी पोष्टमा खटिएका प्रहरीले बाघ देखिएको पुष्टि गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभएको छ । भैरवडाँडामा हवल्दारको कमाण्डमा अस्थायी प्रहरी पोष्ट रहेको छ ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । भोलि जिल्ला वन कार्यालयमा समेत जानकारी गराउने र आवश्यक सतर्कता र सहयोग लिई बाघबाट हुन सक्ने जोखिमबाट बच्ने प्रयास गरिने प्रहरीको भनाइ छ । भैरवडाँडा आसपास सामुदायिक वन बाक्लो हुनुले पनि बाघले बास बस्न सक्ने खतरा छ ।