हेटौंडाः आज बिहान जिल्ला प्रशासन कार्यालयमा भएको कमाण्ड पोष्टको बैठकमा प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले ब्रोइलर कुखुराको उपभोक्ता मूल्य बढाउन नदिने स्पष्ट पार्नुभएको छ । व्यवसायीसँगको कुराकानीमा उहाँले व्यापक विरोधकाबीच समेत किसानलाई केही राहत हुने भनी खाद्यान्न तथा तरकारीको बजार खुल्ने समयमा माछामासु व्यवसाय पनि सञ्चालन गर्न दिने निर्णय गर्ने क्रममा निर्धारित उपभोक्ता मूल्य बढाएर कारोबार गरेको जानकारी प्राप्त भए व्यवसायीलाई कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी नेपालले स्पष्ट पार्नुभएको छ ।
यता उपभोक्ताले भने आज ब्रोइलर कुखुराको मासु प्रतिकेजी तीन सय रुपैयाँदेखि तीन सय २० रुपैयाँसम्ममा खरिद गर्न बाध्य भएको जनाएका छन् । यसअघि हिजो माछामासु व्यवसायीले मूल्य बढाएर विक्री गर्न नपाए व्यवसाय नै बन्द गर्ने चेतावनी दिएको थियो । व्यवसायीको चेतावनीपछि प्रशासनले व्यवसायीको माग पूरा गर्न नसकिने बरु व्यवसाय बन्द गरे हुने जनाएको छ । कुखुरापालक किसानले प्रतिकेजी जिउँदो कुखुरा एक सय २५ रुपैयाँमा दिने सहमति विपरित मूल्यवृद्धि गरेर एक सय ५० रुपैयाँ पुर्याएपछि उपभोक्ता मूल्य पनि बढाउन माग गरेका हुन् । यता कुखुरापालक किसान भने लागत मूल्य प्रतिकेजी एक सय ८० रुपैयाँ पर्ने अवस्थामा एक सय २५ रुपैयाँ प्रतिकेजी उपलब्ध गराउन नसक्ने स्पष्ट पारेको छ ।