गुगल तस्वीर ।

हेटौंडाः देशमा लकडाउनका कारण प्रहरीले हिरासतमा लिने मानिसहरुको संख्यामा कमी आएको छ । लकडाउनका कारण अपराधका घटनामा कमि आएकाले थप अभियुक्तहरु पक्राउ नहुनु, हिरासतमा रहेका केही पुर्पक्षका लागि कारागार चलान हुनु र केही अभियुक्त छुट्नुले हिरासतमा अभियुक्तको संख्यामा उल्लेख्य कमि आएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता सुजन पाठकका अनुसार अहिले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा २७ जना अभियुक्तहरु छन् । लकडाउन हुनुअघि ९० देखि एक सयको हाराहारीमा हिरासतमा अभियुक्तहरु हुने गरेको प्रवक्ता पाठकले बताउनुभयो । लकडाउनको अवधिमा हिरासतमा अभियुक्तको संख्या अझै केही घट्ने उहाँको भनाई छ ।
अहिले हिरासतमा कर्तव्यज्यान, लुटपाट, लागूऔषधमा संलग्न रहेको अभियोग लागेका व्यक्तिहरु रहेको प्रहरी प्रवक्ता पाठकले जानकारी दिनुभयो । लकडाउन भएपनि प्रहरीले अपराधी तथा फरार प्रतिवादीहरुलाई पक्रने उहाँले बताउनुभयो । हिरासतमा लिएकाहरुलाई भने कोरोना भाइरसबाट बच्च सुरक्षित साथ राखिने गरेको तथा जिल्ला प्रहरी कर्याालय मकवानपुरले उच्च सतर्कता अपनाइएको उहाँले बताउनुभयो ।