गुगल तस्वीर ।

हेटौंडाः मकवानपुरका माछा मासु व्यवसायीले जिउँदो ब्रोइलर कुखुरा एक सय २५ रुपैयाँमै उपलब्ध गराउन माग गरेका छन् । कुखुरा व्यवसायी संघले एक्कासी मूल्य बढाउँदा उपभोक्ता समेत मारमा परेको व्यवसायीहरुले बताएका छन् । आज सोमबार मासु व्यवसायी संघ हेटौंडा, माछा मासु व्यावसायी संघ मकवानपुर र नेपाल स्वस्थकर (हलाल) माछामासु व्यवसायी संघका अध्यक्षले संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो बताइएको हो ।
बैशाख ४ गते कुखुरा व्यवसायी संघले प्रेस विज्ञप्ति निकालेर जिउँदो कुखुरा प्रतिकेजी एक सय २५ रुपैयाँमा उपलब्ध गराउने भनेअनुसार कार्यान्वयन गर्न मासु व्यवसायीले माग गरेका छन् । किसानले जिउँदो कुखुरा प्रतिकेजी एक सय २५ रुपैयाँमा उपलब्ध गराउँदा मासु व्यवसायीले उपभोक्तालाई प्रतिकेजी दुई सय ५० रुपैयाँमा विक्री गर्ने सहमति भएको दावी गरिएको छ । सहमति अनुसारको मूल्यमा किसानले जिउँदो कुखुरा उपलब्ध नगराए उपभोक्तालाई दुई सय ५० रुपैयाँमा कुखुराको मासु विक्री गर्न नसकिने व्यवसायीले स्पष्ट पारेका छन् ।
कुखुरा व्यवसायी संघले भने जिउँदो कुखुरा प्रतिकेजी एक सय ५० रुपैयाँका दरले मात्रै विक्री गर्ने जनाएको छ । मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीले कुखुरापालक किसानको प्रतिकेजी एक सय ८० रुपैयाँ लागत रहेको कुखुरा एक सय ५० मा बेच्दा पनि घाटा हुने भन्दै एक सय २५ मा उलब्ध नगराउने स्पष्ट पार्नुभयो । मासु व्यवसायीले मासु बेच्दैनौं भन्यौ भने किसान आफैंले काटेर दुई सय ५० रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउने तर, एक सय २५ रुपैयाँमा जिउँदो कुखुरा नबेच्ने भनेपछि संघले पनि केही गर्न नसक्ने अवस्था रहेको अध्यक्ष अधिकारीले बताउनुभयो ।
यता मकवानपुरका प्रमुख जिल्ला अधिकारीले भने लकडाउनको बेलामा समेत व्यवसाय गर्न छुट दिएको भन्दै मूल्यवृद्धि गर्न नदिने बताउनुभएको छ । साविककै सहमतिअनुसार उपभोक्ता मूल्य कायम नगरी बढी मूल्य लिएको पाइए प्रशासनले कारवाही गर्ने प्रजिअ नेपालले चेतावनी दिनुभएको छ । पछिल्लो समय व्यवसायी र स्थानीय प्रशासनबीच समन्वय गर्दै आएको मकवानपुर उद्योग वाणिज्य संघले पनि मूल्यवृद्धि गर्ने नभई व्यवसायी र किसान दुबैबीच सहज वातावरण हुनुपर्ने जनाएको छ । संघका अध्यक्ष कृष्ण कटुवालका अनुसार आज बिहान संघले मासु व्यवसायी संघका पदाधिकारीसँग छलफल गरेको थियो । मासु व्यवसायीसँगको छलफलमा नसकिने नै भए कारोबार नगर्ने तर मूल्यवृद्धि नगर्न भनिएको अध्यक्ष कटुवालले बताउनुभयो ।