हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले कार्यप्रगति प्रस्तुत गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रथम त्रैमासिक कार्यविधि प्रस्तुत गरेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले ३ महिनामा गरेका कामको विवरण प्रस्तुत गर्नुभएको थियो । गत श्रावण २५ गते आठौं जिल्ला सभा गरी विभिन्न कार्य गरेको उहाँले जानकारी दिनुभयो । नदिजन्य र खानीजन्य जिल्ला अनुगमन समितिबाट हालसम्म उपसमितिको सिफारिसमा सातवटा स्थानीय तहका ५१ वटा क्रसरहरुको स्टक प्रमाणित गरेको छ ।
मनहरी गाउँपालिकामा १२ वटा, राक्सिराङ गाउँपालिकामा ५ वटा, ईन्द्रसरोवर गाउँपालिकामा १ वटा, हेटौंडा उपमहानगरपालिकामा २२ वटा, भीमफेदि गाउँपालिकामा ४ वटा, मकवानपुरगढी गाउँपालिकामा ३ वटा र बकैया गाउँपालिकामा ४ वटा क्रसरहरुको स्टक प्रमाणित गरिएको प्रमुख घलानले जानकारी दिनुभयो । यस्तै, थाहा नगरपालिका र कैलाश गाउँपालिकामा स्टक प्रमाणित गर्न बाँकी रहेको घलानले बताउनुभयो ।
कानुन विपरित सञ्चालन भएको क्रसरहरुलाई स्थानीय तहहरुले नै कारवाही गर्ने उहाँको भनाइ रहेको छ । आगामी दिनहरुमा पनि पत्रकार सम्मेलन गरी जिससले गरेको कार्यप्रगतिबारे जानकारी गराउने घलानको भनाइ रहेको छ ।











