हेटौंडा–९ पशुपतिनगरको खोप केन्द्रमा बालबालिकालाई भिटामिन “ए” र जुकाको औषधि खुवाउँदै स्वयम्सेविका ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका ९० प्रतिशत भन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको छ । बुधबार र बिहीबार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको थियो ।

६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम अन्तर्गत हेटौंडाका ९० प्रतिशत भन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताउनुभयो । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन हेटौंडामा १ सय ८४ वटा खोप केन्द्र तोकिएको थियो । हेटौंडा उपमहानगरपालिकामा १३ हजार ३ सय ६९ जना बालबालिका रहेका छन् ।