Home मुख्य समाचार आज र भोली भिटामिन “ए” र जुकाको औषधि खुवाइदै

आज र भोली भिटामिन “ए” र जुकाको औषधि खुवाइदै

हेटौंडा–९ पशुपतिनगरको खोप केन्द्रमा बालबालिकालाई भिटामिन “ए” र जुकाको औषधि खुवाउँदै स्वयम्सेविका ।

हेटौंडाः आज बुधबार र भोली बिहीबार बालबालिकालाई भिटामिन “ए” र जुकाको औषधि खुवाइदै छ । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन “ए” र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई दिने जुकाको औषधि खुवाउने कार्यक्रम आज बुधबारबाट सुरु भएको छ ।

झण्डै २७ लाख बालबालिकालाई भिटामिन “ए” र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइने योजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन “ए” र जुकाको औषधि खुवाउने गरिन्छ । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन “ए” क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रम संचालन गरिरहेको छ ।

दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकाहरुलाई भिटामिन “ए” र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाईने मन्त्रालयले जनाएको छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन “ए” कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो ।

“राष्ट्रिय भिटामिन ए” कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत् बालबालिकालाई खुवाउने गरिन्छ । अभिभावकलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन “ए” र जुकाको औषधि खुवाउन जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले आग्रह गरेको छ ।

Exit mobile version