हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ६७ औँ प्रहरी दिवस मनाएको छ । दिवसको अवसरमा प्रहरीले सोमबार विभिन्न कार्यक्रमहरु गरी प्रहरी दिवस मनाएको हो । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै मुुख्यमन्त्री पाण्डेले २०१२ असोज ३१ गते विधिगत रुपमा प्रहरी संगठनको स्थापना भएको स्मरण गराउनुभयो । प्रहरीको संगठन राणाको विरुद्धका लागि स्थापना भएको बताउँदै प्रहरीको सेवा कठीन रहेको बताउनुभयो । कार्यक्रममा पाण्डेले शान्ति सुरक्षा सेवा गर्ने क्रममा ज्यान गुमाएका प्रहरीहरु प्रति समवेदना प्रकट गर्नुभयो । प्रहरीको उपस्थिति हुँदा राज्यको उपस्थिति हुने जानकारी गराउँदै प्रहरीले आफ्नो दायित्वमा रहेर कार्य गर्नु पर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले प्रहरी ऐन बनाएको भन्दै ऐन अनुसार काम गर्न नसकेको उहाँले बताउनुभयो । नेपालको संविधान अनुसार प्रदेश सरकारको समायोजनमा आउनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । प्रदेशमा स्मार्ट पोलिस कन्ट्रोल रुम बनाउन प्रदेश सरकारको निर्णय भएको भन्दै उहाँले छिटै काम हुनेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण प्रसाद खनालले सरकार सञ्चालनमा एक महत्वपुर्ण संगठन प्रहरी संगठन रहेको बताउनुभयो । जनताको नजिक भएको संस्था भएकोले भरोसा योग्य साथिको रुपमा अगाडी बढ्नु पर्ने बताउनुभयो । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफल रुपमा सम्पन्न गर्न सुरक्षा निकायको महत्वपूर्ण भुमिका हुने बताउनुुुभयो ।
दिवसको अवसरमा प्रदेश प्रहरी नायव महानिरिक्षक किरण बज्राचार्य सम्मानित हुनुभएको छ । बज्राचार्यलाई मुख्यमन्त्री पाण्डेले सम्मान प्रदान गरी सम्मानित गनुभएको हो । मकवानपुरका ट्राफिक प्रहरी कार्यालय प्रमुख मुनेन्द्र थापालाई बजारमा ट्राफिक व्यवस्थापन गरिएको भन्दै सम्मानित गरिएको हो । यस्तै, प्रहरी निरिक्षक मधु कुमार थापालाई पनि सम्मानित गरिएको छ । कार्यक्रममा सहिद प्रहरीहरुको नाममा उनिहरुको परिवारलाई सम्मान गरिएको थियो ।
