मदिरा प्रयोगको न्यनीकरण तथा लागुपदार्थ प्रयोगविरुद्ध सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रममा सहभागीहरु ।

हेटौंडाः आईतबार मदिरा प्रयोगको न्यनीकरण तथा लागुपदार्थ प्रयोग विरुद्ध सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा उपमहानगपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका बनाउने, कुलतमा परेका बालबालिकालाई प्रस्तावना केन्द्रमा व्यवस्थापन गर्ने, लागुपदार्थ प्रयोगमा निषेधित गर्ने र मदिरा प्रयोगलाई न्यूनीकरण गर्ने विषयमा छलफल भएको सिविन नेपाल मकवानपुरका प्रमुख झविन्द्र ज्ञवालीले बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा सिविन नेपाल काठमाडौंका प्रर्वद्धक ध्रुव गौतमले सहजीकरण गर्नुभएको थियो । उहाँले लागुपदार्थ तथा मदिराको बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन तथा नीति नियमको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले बालबालिकामा मदिरा र लागुपदार्थ प्रयोगले पर्ने असर तथा यसबाट बालबालिकालाई बचाउने उपायका बारेमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरुले बालबालिकामा मदिरा र लागुपदार्थ प्रयोगको विषयलाई रोकथाम तथा न्यूनीकरणका लागी प्रतिबद्धता गरेका थिए । सबै क्षेत्रबाट यसको रोकथाम र न्यूनीकरण गरिने सहभागीहरुले प्रतिबद्धता गरेका छन् । सिविन नेपाल मकवानपुर तथा हेटौंडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यलय, माईती नेपाल, मामाघर नेपाल, बार एसोशिएसन, लागुपदार्थ पूनस्र्थापना केन्द्र लगायत विभिन्न सामाजिक संस्थाका प्रमुुख तथा प्रतिनिधीको सहभागिता रहेको थियो ।