साहित्यका बहुविधामा कलम चलाउने उषा शेरचन अग्रज तथा वरिष्ठ साहित्यकार हुन् । उनको ‘आधि’ उपन्यास २०७६ साल असारमा बुक हिल पव्लिकेशनले प्रकाशन गरेको छ । ६३ वर्षको उमेरमा यत्तिको जोश र जाँगरका साथ उषा शेरचनले पहिलो उपन्यास ‘आधि’ पाठकमाझ पस्कनु भएको छ । विशेषतः पढे–लेखेकी गाउँकी छोरी चाँदनीको कथा नै यस उपन्यासको विषयवस्तु हो । नारीको जिवनको भित्री चिन्तन र पीडालाई सम्बोधन गर्न खोजिएको यस उपन्यासमा नारीले पनि जिवनमा असल व्यक्तिको साथ पाएमा समाजमा केही गरेर देखाउन सक्छिन् भन्ने उदाहरण चाँदनी हुन् ।

डीबी बर्तौला

उपन्यासमा १ देखि २८ भागसम्म कथा फैलिएको पाइन्छ । पहिलो दृश्य चाँदनी गाउँबाट भागेर मामा घर जाने भनेर काठमाडौंमा सार्थकको डेरामा पुग्छिन् । त्यसपछि ६ भागसम्म विहेको किनमेल, विहे सम्पन्न साथीहरु र घरवेटी अनि काम गर्ने कान्छिको साथमा हर्ष बढाई भएको पाइन्छ । सार्थक धेरै खुसी हुन्छ । प्रेमको धेरै व्याख्या र चाँदनीको सौन्दर्यमा सार्थक दंग पर्छ । तर, चाँदनीमा एक किसिमको डर, त्रास पैदा भै नै रहन्छ । उनको पीडा के हो । त्यो भने रहस्यमा छ । आफ्नै काकाले रजस्वला हुनुअघि नै चाँदनीलाई बलात्कार गरेको कुरा छैठौं भागमा रहस्य खुलेको छ । सार्थक र चाँदनीको प्रेम उत्कर्समा डुबेको पाइन्छ । घर परिवार राजी भै बैशाखमा गाउँको घरमा भित्र्याउने तयारी हुन्छ । काका पर्नेले पटक–पटक गरेको बलात्कारको प्रभाव सानी चाँदनीमा गहिरो रुपमा परेको हुन्छ । त्यहि पीडाबाट भाग्दै चाँदनीले सार्थकसँग विहे गरेकी थिई । दसौं भागबाट चाँदनीले विगतलाई सम्झेकी छे । कविता लगायत पुस्तक पढेर दिन बिताउने चाँदनीलाई बुबाको मृत्युपछि सरिता र सार्थक घरमा भेट्न आएका छन् । सरितासँगै पढने चाँदनीको साथी र सार्थकको बहिनी हुन् । त्यहाँबाट फर्किएपछि सार्थकले चाँदनीलाई पे्रम पत्र लेखेर पठाउँछ । यो त अगाडिको स्मरण मात्र हो । चाँदनी र सार्थकको जिवन दुखत थियो । तर १६ औं भागबाट बोसमायाको उपस्थितिले सार्थकको जिवनले नयाँ मोड लिन्छ । चाँदनी र कान्छिको लामो गफगाफ हुन्छ । काठमाडौंमा केटिहरु यौनधन्दामा लाग्ने अनौठो तरिका र बेकाम्मे महिलाहरु तास खेलेर समय बिताउने यथार्थहरु कान्छिले बताउँछिन् । सार्थकले चाँदनी माथि हिंसा गर्नु, चाँदनीमा पीडाले बाँच्न मन नलागेको कुरा उपन्यासमा देखाइएको छ । २० औं भागमा मायाकै कारण सार्थक र चाँदनीको सुन्दर सन्सार भत्कन्छ । र सम्बन्धविच्छेद समेत हुन्छ ।
उनलाई फेरी विगतको घटनाले प्रभाव पार्छ । आमाको मृत्यु पनि हुन्छ । सार्थक त्यत्रो माया पनि धोकामा परिणत भएपछि र कान्छीले तीन वर्षकी छोरीलाई आफ्नै काकाले बलात्कार गरेको घटना सुनेपछि डाक्टर कमलको सल्लाह र सुझावले विस्तारै आशा पलाउँछ । डा. कमलकै सल्लाहमा महिला हिंसा विरुद्ध लाग्न योजना बनाउँदैछिन् । गाउँबाट सासू ससुराबाट आर्थिक सहयोग प्रप्त गर्छिन् र त्यो काकाले पनि माफी माग्दछन् । उनले ‘उज्यालो घर’ नामक यौनहिंसामा परेकी महिलाको उद्दारका लागि संस्था खोलेकी छिन् । अन्तमा हिम्मत जुटाएर केहि गर्ने अठोट डा. कमल र कान्छीको अभियान सासू–ससुराको साथले सम्पन्न भएको कुरा डायरीमा लेख्दै उपन्यास समाप्त भएको छ ।
साँच्चै उपन्यासमा चाँदनीको बाहेक केही दोष उपकथाहरु शेरचनले समावेश गरेकी छिन् । श्रीमतीले श्रीमानलाई केटी खोजी दिनु पर्ने, श्रीमानले श्रीमतीलाई अर्को केटासँग यौन सम्पर्क गराउनु, डिभोर्सका थुप्रै कार्यहरु समेटिनु, तास खेलेर समय बिताउने जस्ता घटनाहरु काठमाडौंमा भैरहने यथार्थलाई उपन्यासकारले सरल ढङ्गमा प्रस्तुत गर्नु भएको छ । घर–घरमा हुने महिला हिंसाको यथार्थ पक्षलाई चाँदनी मार्फत उपन्यासकारले छर्लङग पर्नु भएको छ । सामाजिक विषयवस्तुमा आधारित रहेर लेखिएको ‘आधि’ उपन्यासमा नारीको मानसिक छटपटीलाई देखाएकाले शीर्षक पनि सार्थक रहेको पाइन्छ । सरल भाषाशैलीमा लेखिएको यस उपन्यासलाई कौतुहलपुर्ण बनाएको छ भने मानसिक रुपले विक्षिप्त चाँदनीलाई कान्छीले साहारा दिएकाले समाजमा अझै समस्यामा परेकाका लागि साथ दिने हुन्छन् भन्न खोजिएको छ । छोरीलाई सम्हाल्दै जिवनमा एक्लै पनि केहि गर्न सक्ने उनको हिम्मतलाई कदर गर्नै पर्छ ।
यस उपन्यासमा मैले पढ्दै गर्दा देखेका र मलाई लागेका सुधारात्मक पक्षलाई केलाउन चाहान्छु । चाँदनीले कसैलाई भन्न नसक्नु, आजको समयमा त सामना गरिन्थ्यो कि ? १२ औं भागमा बाबाको मृत्यु भएको र उनले बीए पास गरेको कुरा बताएर १४ औं भागमा परीक्षाको तयारी गरेको कुरा गर्न सुहाएन कि भन्ने लागेको छ । किनभने गाउँमा त्यो भन्दा माथिल्लो तहको पढाई नहुने कुरा गरिएको छ । सार्थकले चाँदनीलाई भेट्न आउँदा बहिनी नभनेर चाँदनी नै भनेको भए राम्रो हुन्थ्यो होला । चाँदनी मर्न खोज्दा सल चुढिँन खोजेको कुरा सुहाएन । सल त पक्कै चुढिँदैन होला । आदि कुरालाई ध्यान दिएको भए उपन्यास अझ उत्कृष्ट हुन्थ्यो जस्तो मलाई लाग्यो ।
अतः उपन्यास ‘आधि’ नारीको मानसिक पीडा आधारित रही काठमाडौंका यथार्थ उपकथाहरु समेतलाई उजागर गर्न सफल भएको छ । बिहेको लाइसेन्स देखाएर श्रीमती गरिने बलात्कारको यथार्थ पक्ष वर्तमान समयको सत्यतालाई देखाइएको छ । ‘उज्यालो घर’ संस्थाको स्थापना गरी नारीहरुले पनि केही गर्न सक्छन् भनेर ‘आधि’ मार्फत शेरचनले नारीहरुको मनोबल बढाउन सफल हुनुभएको छ ।

(लेखक बर्तौला साहित्य सङ्गम मकवानपुरका सचिव हुनुहुन्छ ।)