थाहा नगरपालिकामा सहकारीले उपलब्ध गराएको राहत सामग्री वितरण गरिँदै ।

हेटौंडा, ६ बैशाखः जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको समन्वयमा विभिन्न सहकारी संस्थाहरुबाट सहयोग संकलन गरेर स्थानीय तहहरुलाई हस्तान्तरण गरिरहेको छ । संघले प्रारम्भिक सहकारी संस्थाहरुको सहयोगमा स्थानीय तहमा राहत हस्तान्तरण गरिरहेको जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।
संघले ३ लाख २ हजार संकलन गरेर बागमती प्रदेश सरकारको कोषलाई हस्तान्तरण गरेको छ । राहतमा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरले १ लाख १ हजार, जिल्ला सहकारी संघ मकवानपुरले ५० हजार, जिल्ला दुग्ध सहकारी संघ मकवानपुरद्वारा १ लाख १ हजार, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरले २५ हजार र जिल्ला कृषि सहकारी संघ मकवानपुरले २५ हजार राहत सहयोग गरेको छ ।
बचत संघ मकवानपुरले मकवानपुरको १० वटै स्थानीय तहमा भएका सहकारी संस्थाहरुसँग राहत संकलन गरेर र आफुले ५ हजार थप गरेर प्रत्येक स्थानीय तहहरुलाई हस्तान्तरण गर्ने योजना बनाएको छ । संघकी अध्यक्ष कल्पना श्रेष्ठका अनुसार बकैया गाउँपालिकालाई ९६ हजार ५ सय राहत रकम हस्तान्तरण गरी सकिएको छ भने थाहा नगरपालिकालाई ६० हजार रकम हस्तान्तरण गरिएको छ । इन्द्रसरोवर गाउँपालिकाले भने स्वास्थ्य सामग्रीको माग गरेको हुनाले आफुहरु त्यो पहलमा लागी परेको बताउँदै श्रेष्ठले छिट्टै स्थानीय तहको माग अनुसार सम्पुर्ण स्थानीय तहहरुमा राहत रकम, खाद्यान्न तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिने बताउनुभयो । मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा सहकारी संस्थाहरु अत्यन्त न्युन भएकोले स्थानीय सहकारीहरुबाट संकलन भएको रकममा जिल्ला बचत तथा ऋण संघ मकवानपुरले संघका पदाधिकारीको तलबबाट दुबै गाउँपालिकालाई १८ हजार ६ सय थप गरी राहत हस्तान्तरण गर्ने बताइएको छ ।