हेटौंडाः नेपाल समाजवादी पार्टी निकट पत्रकारहरुको संस्था प्रेस नेपालको अध्यक्षमा मकवानपुरका मनोज शर्मा ढोडारी चयन हुनुभएको छ । काठमाडौंमा सम्पन्न बौद्धिककर्मी महासंघका घटकहरुको पुनर्गठन भेलाले तत्कालिन प्रेस मञ्चका उपाध्यक्ष रहनुभएका शर्मालाई अध्यक्ष चयन गरेको हो । हेटौंडा–२ निवासी ढोडारी दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।
बाणिज्य संकायमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएका शर्मा दुई दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । शर्मा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कार्यसमिति सदस्य हुनुहुन्छ । हाल निरन्तर न्युजडटकमका सम्पादक रहनुभएका शर्मासँग विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ । गोरखापत्र दैनिक, हिमालयन टिभी, हेटौंडा एफएम, मकवानपुर पोष्ट दैनिक, समृद्ध समाज दैनिक, रेडियो आकाशगंगा, प्रतिक दैनिक, कृपा दैनिक, लोकतन्त्र सन्देश, साझापोष्ट, खबरमोर्चा साप्ताहिक लगायतका सञ्चार माध्यममा रिपोर्टिङ तथा सम्पादन गरेको अनुभव पत्रकार शर्मासँग छ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सचिवालय बसेर कार्य गरिसक्नुभएका शर्मासँग कुटनीतिक र राजनीतिक रिपोर्टिङको समेत अनुभव छ । विभिन्न सञ्चारमाध्यममा आबद्ध भएर आफूले भोगेको अनुभव तथा पत्रकारलाई दक्ष र समृद्धिमुखी बनाउनका लागि आफू सक्रियतापूर्वक लाग्ने उहाँको भनाई छ ।
यस्तै संगठनको उपाध्यक्षमा वीरेन्द्र साह हिटलर, राम विनय साह, सत्य प्रकाश यादव महासचिवमा बिदुर ढुंगेल, उपमहासचिवमा उज्वल पौडेल, सचिवमा रमेश पोखरेल र कोषाध्यक्षमा गणेश आचार्य चयन भएका छन् । संगठनको सदस्यहरुमा यज्ञ कार्की, मञ्जु शाही, सुमित्रा घिमिरे, ललन चौरासिया, सञ्जय महर्जन, सन्तोष गौतम, रियाज पौडेल, रामचन्द्र तिम्सेना, लोकश कुमार अधिकारीलगायत रहेका छन् ।
जिम्मेवारी पाएका पदाधिकारीहरुलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बधाई तथा शुभकामना दिनुभएको छ । संविधान दिवसको अवसरमा सोमबार भएको कार्यक्रममा डा. भट्टराईले संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणालीतर्फ संविधान अधुरो रहेको भन्दै संशोधनमार्फत अघि बढ्न समेत अपिल गर्नुभएको छ । कार्यक्रममा पार्टीका महासचिव रमेश यादव, इश्वर रिजाल, दुर्गा न्यौपाने, कृष्ण शर्मा, केशव शर्मालगायतको आतिथ्य रहेको थियो ।