हेटौंडाः नेपालमा परिवार योजना साधन प्रयोगकर्ता ९ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/२०७९ को तथ्यांकअनुसार प्रजनन्दरका लागि उमेर पुगिसकेका विवाहित महिलाहरुले मात्र परिवार योजनाको साधन प्रयोग गर्ने प्रयोगकर्ता ९ प्रतिशतले वृद्धि भएको हो ।

आइतबार नवौं राष्ट्रिय परिवार योजना दिवसको अवसरमा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिएको छ । परिवार योजनाका लागि ४६ हजारभन्दा बढी महिलाले डिपोप्रोभेरा प्रयोग गर्ने गरेको निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार ५२ हजारभन्दा बढीले इम्प्लान्ट प्रयोग गर्ने गरेका छन् । यस्तै, १९ हजारभन्दा बढीले पिल्स चक्की र ११ हजारभन्दा बढीले आइयुसीडी प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

कुल प्रजनन्दर २ प्रतिशत रहेको र सन् २०१९ सम्ममा परिवार नियोजनका साधनहरुको सेवा ४७ प्रतिशत रहेको छ । आधुनिक परिवार नियोजन साधनको प्रयोगदर ४३ प्रतिशत छ भने किशोरी प्रजनन्दर भने ६३ प्रतिशत छ । बागमती प्रदेशमा परिवार नियोजनको साधन प्रयोगकर्ता ३५ प्रतिशत र नेपालमा ४४ प्रतिशत रहेको वरिष्ठ जनस्वास्थ्य प्रशासक कार्कीले जानकारी दिनुभयो । कुल प्रजनन् दरमा कमी भए पनि जनसंख्या ऋणात्मक हुन दशकौं लाग्ने प्रक्षेपण रहेको उहाँको भनाइ छ ।

सन् १९७६ देखि सन् २०११ सम्ममा परिवार नियोजन साधनको आपूर्ति ३१ बाट २४ मा पुगेको उहाँले बताउनुभयो । कुल प्रजनन् दर ६ दशमलब ३ प्रतिशतबाट २ प्रतिशतमा झरेको उहाँले जानकारी दिनुभयो । जसले गर्दा मातृ तथा शिशु मृत्युदरमा उल्लेख कमी आएको उहाँको भनाइ छ । दुर्गम स्थानमा परिवार नियोजन साधनको पहुँच बढे पनि सिमान्तकृत, भौगोलिक विकटता तथा पिछाडिएका वर्गहरुमा अझै उक्त साधन प्रयोगको पहुँच पुग्न सकेको छैन । जनसंख्या वृद्धिलाई कम गर्न होइन बच्चा, किशोरीहरुको स्वाथ्य पोषणका लागि, महिला शसक्तिकरण तथा गरिबी निवारणका लागि परिवार योजनाको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो । तालिम प्राप्त जनशक्तिको कमीका कारण नियमितरुपमा स्वास्थ्य सेवा दिन चुनौती रहेको उहाँले जानकारी दिनुभयो ।

तीन तहको सरकार, व्यक्ति र परिवार, समाज, समुदायले परिवार योजना कसरी व्यवस्थित गर्ने विषयमा लाग्नुपर्ने उहाँको भनाइ छ । बागमती प्रदेश अन्य प्रदेशभन्दा पछाडि परेको उहाँले जानकारी दिनुभयो । काठमाडौं र चितवनका निजी अस्पतालले यस्ता विषयका तथ्यांक नपठाउने गरेको उहाँले बताउनुभयो । “व्यवस्थित परिवार, हाम्रो अधिकारः हामी सबै जिम्मेवार” भन्ने नारासहित बुद्घचोकबाट प्रभातफेरी र सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै दिवस मनाइएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत्को स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी शिवप्रसाद बडाललगायतको उपस्थिति थियो ।