हेटौंडाः अन्तर्राष्ट्रिय स्वयंसेवी संस्था रोटरी इन्टरनेशनलको सदस्य संस्था रोटरी क्लब अफ हेटौंडाले शुक्रबार मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका १० जनालाई ह्वीलचेयर वितरण गरेको छ । यस्तै शुक्रबार नै क्लबले मकवानपुरको मनहरी गाउँपालिकामा शैक्षिक सामग्री सहयोग गरेको छ ।
क्लबले शुक्रबार बिहान हेटौंडा–४, हुप्रचौरस्थित क्लबको सचिवालय भवनमा एक कार्यक्रमका बीच अशक्त व्यक्तिहरुका लागि ह्वीलचेयर वितरण गरेको थियो । आँखा स्वास्थ्य विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा क्लबले ह्वील चेयर वितरण गरेको हो । क्लबले हेटौंडा–५ का विशाल थापा मगरलाई ह्वील चेयर वितरण गरिएको थियो ।
त्यस्तै क्लबले मकवानपुरको मनहरी गाउँपालिकास्थित राष्ट्रिय रोटरी माविका कक्षा १ र २ का विद्यार्थीहरुलाई एक सय थान स्कुल व्याग वितरण गरेको छ । साथै क्लबले उच्च शिक्षा अध्ययनका लागि कक्षा ११ र १२ का ८ जना विद्यार्थीलाई बार्षिक रुपमा छात्रवृत्ति वितरण गर्ने गरी बार्षिक छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ । क्लबले विद्यालयसँग छात्रवृत्तिसम्बन्धी सम्झौता नै गरेको छ । रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष सुयशराज पराजुली र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम बानियाँले समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको छ । समझदारीअनुरुप रोटरी क्लबले प्रत्येक बर्ष ८ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने र मकवानपुर जिल्लामै रहे थप अध्ययन गर्न चाहे स्नातकोत्तरसम्म नै निशुल्क शिक्षाको अवसर दिने क्लबका पूर्वअध्यक्ष धिरज कार्कीले जानकारी दिनुभयो ।
शुक्रबारनै क्लबले रोटरी डिस्ट्रिक्ट ३२९२ को खेलकुद उपसमितिका राष्ट्रिय अध्यक्ष धिरज कार्की मार्फत रोटरी विद्यालय र बालज्योति आधारभूत विद्यालयमा १६ थान फुटबल सहयोग गर्नुभएको छ । यस्तै राष्ट्रिय रोटरी माविमा रोट्याक्ट क्लब अफ हेटौंडाले स्वच्छता अभियानमा सहयोग स्वरुप हातधुने संयन्त्र र साबुनहरु समेत उपलब्ध गराएको रोट्र्याक्ट क्लब अफ हेटौंडाका अध्यक्ष मिलन ढकालले जानकारी दिनुभएको छ ।