विज्ञान प्रदर्शनीमा एटीएम कार्ड प्रयोग गरेर पिउने पानी लिन सकिने प्रविधि प्रदर्शन गर्दै विद्यार्थी ।

हेटौंडाः हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलले विज्ञान दिवसको अवसरमा विज्ञान प्रदर्शनीको आयोजना गर्ने जानकारी विद्यार्थीलाई गरायो । विद्यालयको जानकारीपछि ७ कक्षामा अध्ययनरत क्षितिज पाठक, रौनक सापकोटा, सुब्रत बोहोरा, अमिष दाहाल र इशान्त लामाको समूहले एउटा वैज्ञानिक प्रयोगको प्रदर्शनी गर्नुपर्ने अवस्था आयो ।

५ जनाबीच तीन वटा योजना प्रस्तुत गर्ने विषयमा छलफल भयो । योजना छनोटका लागि उनीहरुबीच एउटा जुक्ति जुर्यो । डाइनामो, वाटर पम्प, इलेक्ट्रोनिक म्याग्नेट सर्कुलेसन तीन वटा योजना मध्ये एउटा योजना छान्न उनीहरुले गोला गरे । क्षितिज पाठकले भने, ‘हामीबीच योजना छनोट गर्ने विषयमा गोला गर्ने प्रस्ताव आयो । हामीले गोला गर्ने क्रममा वाटर पम्पको योजना छानियो ।’ विद्यार्थीको समूहले पानी तान्ने पम्प बनाउने वैज्ञानिक विधिको प्रस्तुतीका लागि तयारी गर्न अमिष दाहाल नेतृत्वको ५ सदस्यीय समूहलाई ४ दिन लाग्यो ।

अमिष नेतृत्वको समूह जस्तै कक्षा ४ देखि १० कक्षासम्मका ८० भन्दा बढी समूहमा ४ सय ५० विद्यार्थीले शुक्रबार विद्यालय परिसरमा एकसाथ विज्ञान प्रदर्शनीको आयोजना गर्यो । असोज १ गते विज्ञान दिवस दिवस भए पनि यो वर्ष विज्ञान दिवसको दिन शनिबार परेकोले अघिल्लो दिन शुक्रबार नै विज्ञान प्रदर्शनीको आयोजना गरिएको विद्यालयका प्रिन्सीपल विनोद सुवेदीले जानकारी दिनुभयो । विद्यार्थीलाई वैज्ञानिक खोज, अनुसन्धान र अभ्यासमा प्रेरित गर्न विज्ञान दिवसको अवसरमा प्रदर्शनीको आयोजना गरिएको उहाँको भनाइ छ ।

विद्यार्थीको प्रदर्शनी अवलोकनका लागि सरोकारवाला निकायका प्रतिनिधिका साथै अभिभावक पनि उपस्थित थिए । अवलोकनका लागि आउनेलाई विद्यार्थीले पालैपालो जानकारी गराएका थिए । विद्यार्थीको सक्रियता र प्रस्तुती उल्लेखनीय रहेको बताउनुहुँदै विद्यालयका सहायक प्रिन्सीपल अमूल श्रेष्ठले आगामी दिनमा विज्ञान प्रदर्शनीलाई थप व्यवस्थित बनाउँदै लगिने जानकारी दिनुभयो ।