सहकारीले वितरणका लागि तयार पारेको खाद्यान्न सामग्री ।

हेटौंडाः हेटौंडा–१३, पदमपोखरीस्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २० औं स्थापना दिवसको अवसरमा आर्थिक अवस्था कमजोर भएका परिवारलाई आज खाद्यान्न सामग्री सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लक डाउनको घोषणा गरेका कारण समस्यामा परेका आर्थिक अवस्था कमाजोर भएका ७४ परिवारलाई सहयोग गरिएको सहकारीले जनाएको छ । सहकारीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ का विपन्न परिवारलाई राहत वितरण गरेको हो । वडा नम्बर १२ का ३६ र वडा नम्बर १३ का ३८ परिवारलाई घरघरै पुगेर राहत वितरण गरिएको छ ।
सहकारीकी अध्यक्ष विष्णुमाया लामाका अनुसार वडा कार्यालयले पहिचान गरेका विपन्न परिवारलाई सहकारीले खाद्यान्न वितरण गरेको हो । सहकारीले प्रतिपरिवार १५ केजी चामल, ३ केजी दाल, २ लिटर तेल र २ केजी नुन वितरण गरेको हो । प्रतिपरिवार एक हजार ४ सय ५० रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गर्न एक लाख सात हजार तीन सय रुपैयाँ खर्च भएको अध्यक्ष लामाले बताउनुभयो ।
सहकारीले स्थापना गरेको विपद् व्यवस्थापन कोषबाट ५० प्रतिशत तथा कर्मचारीहरु, सञ्चालक समिति, लेखासमिति र उपसमितिबाट ५० प्रतिशत रकमबाट राहत वितरण गरिएको हो ।
यस्तै सहकारीले स्थापना दिवसकै अवसरमा हेटौंडा–१२, वनस्पतीस्थित युगचेतना नमूना आधारभूत विद्यालयमा नर्सरी कक्षामा भर्ना हुने २५ जना विद्यार्थीका लागि विद्यालय पोशाकको कपडा सहयोग गरेको छ । करिब १५ हजार रुपैयाँ लागतमा विद्यालय पोशाकको कपडा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार डिम्डुङलाई हस्तान्तरण गरिएको सहकारीकी अध्यक्ष लामाले बताउनुभयो । वार्षिकोत्सवको अवसरमा सहकारीले हरेक वर्ष सेवाक्षेत्र भित्रका विद्यालयमध्ये कुनै एक विद्यालयका बालबालिकालाई पोशाक वितरण गर्ने गरेको छ ।