Home मुख्य समाचार रक्तसञ्चार केन्द्रमै पुगेर जेसीआई हेटौंडा लेडीको आयोजनामा ४२ जनाद्वारा रक्तदान

रक्तसञ्चार केन्द्रमै पुगेर जेसीआई हेटौंडा लेडीको आयोजनामा ४२ जनाद्वारा रक्तदान

जेसीआई हेटौंडा लेडीको आयोजनामा रक्तसञ्चार केन्द्रमै पुगेर रक्तदान गर्दै रक्तदाताहरु ।

हेटौंडा, ५ बैशाखः जेसीआई हेटौंडा लेडीले रक्तसञ्चार केन्द्रमै पुगेर आयोजना गरेको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् । जारी लक डाउनका कारण रक्तसञ्चार केन्द्र हेटौंडामा रगतको अभाव भएको भन्ने खबरपछि जेसीआई हेटौंडा लेडीले आज बिहान रक्तदान कार्यक्रमको आयोजना गरेको हो । जेसीआई हेटौंडा लेडीकी उपाध्यक्ष गंगाकुमारी श्रेष्ठको संयोजकत्वमा रक्तदान कार्यक्रम भएको हो ।
सामान्य अवस्थामा विभिन्न संघ, संस्थाले सामाजिक सेवाको महत्वपूर्ण क्रियाकलापको रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको थियो । रक्तदानलाई जीवनदानको नारा दिएर संघ, संस्थाले आफ्ना वार्षिकोत्सव, स्थापना दिवस, विशेष अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेका छन् । यसरी आयोजना गरिने कार्यक्रमले स्वास्थ्य उपचारका क्रममा आवश्यक रगतको माग पूरा गरिरहेको थियो । तर, कोरोना भाइरसको संक्रमणको जोखिम न्यून गर्न भन्दै सरकारले चैत ११ गतेदेखि आव्हान गरेको लक डाउनका कारण रक्तदान कार्यक्रमको आयोजना हुने स्थिति नहुँदा बेला बेलामा रक्तसञ्चार केन्द्रमै रगतको अभाव हुने गरेको छ ।
रगतको अभाव टार्नकै लागि विभिन्न संघ, संस्था रक्तसञ्चार केन्द्रमै पुगेर रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । केही दिनअघि हेटौंडाको एफसी विजय युथ क्लबले पनि रक्तसञ्चार केन्द्रमै पुगेर २३ जनाले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । यस्तै कपडा तथा तयारी पोशाक व्यवसायी संघका पदाधिकारीले पनि रक्तसञ्चार केन्द्रमै पुगेर ६ जनाले रक्तदान गरेका थिए ।

रक्तसञ्चार केन्द्र हेटौंडामा दैनिक औसत ७ युनिट रगतको माग हुने गरेको केन्द्र प्रमुख टंक दाहालले जानकारी दिनुभयो । रगतको अभाव हुँदा रक्तसञ्चार केन्द्रका कर्मचारीले सम्पर्कमा रहेका रक्तदातालाई रक्तसञ्चार केन्द्रमै बोलाएर पनि रगत संकलन गरी मागअनुसारको आपूर्ति व्यवस्था मिलाउने गरेको छ । आज संकलित रगतले अबको एक साता रगतको माग धान्न सहज भएको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दालले बताउनुभयो ।

Exit mobile version