केही दिनअघि हेटौंडाको एफसी विजय युथ क्लबले पनि रक्तसञ्चार केन्द्रमै पुगेर रक्तदान गर्दै एफसी विजय युथका पदाधिकारी तथा खेलाडीहरु ।

हेटौंडाः जारी लक डाउनका कारण रक्तदान कार्यक्रम नहुँदा रक्तसञ्चार केन्द्र हेटौंडामा बेला बेलामा रगतको अभाव भइरहेको छ । अहिले रक्तसञ्चार केन्द्रमा रगतको अभावको स्थितिमा जेसीआई हेटौंडा लेडीले भोलि बिहान रक्तसञ्चार केन्द्र हेटौंडामै पुगेर रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
जेसीआई हेटौंडा लेडीकी उपाध्यक्ष गंगाकुमारी श्रेष्ठको संयोजकत्वमा भोलि बिहान रक्तसञ्चार केन्द्र हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । जेसीज सदस्य तथा गैरसदस्यलाई सम्पर्क गरी भोलि शुक्रबार बिहान रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक श्रेष्ठले बताउनुभयो । रगतको अभाव टार्नकै लागि विभिन्न संघ, संस्था रक्तसञ्चार केन्द्रमै पुगेर रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । केही दिनअघि हेटौंडाको एफसी विजय युथ क्लबले पनि रक्तसञ्चार केन्द्रमै पुगेर २३ जनाले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । यस्तै कपडा तथा तयारी पोशाक व्यवसायी संघका पदाधिकारीले पनि रक्तसञ्चार केन्द्रमै पुगेर ६ जनाले रक्तदान गरेका थिए ।
सामान्य अवस्थामा रक्तदान कार्यक्रम विभिन्न संघ, संस्थाका लागि सामाजिक सेवाको महत्वपूर्ण क्रियाकलापको रुपमा रहने गरेको थियो । रक्तदानलाई जीवनदानको नारा दिएर संघ, संस्थाले आफ्ना वार्षिकोत्सव, स्थापना दिवस, विशेष अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको थियो । यसरी आयोजना गरिने कार्यक्रमले स्वास्थ्य उपचारका क्रममा आवश्यक रगतको माग पूरा गरिरहेको थियो । तर, कोरोना भाइरसको संक्रमणको जोखिम न्यून गर्न भन्दै सरकारले चैत ११ गतेदेखि आव्हान गरेको लक डाउनका कारण रक्तदान कार्यक्रमको आयोजना हुने स्थिति नहुँदा बेला बेलामा रक्तसञ्चार केन्द्रमै रगतको अभाव हुने गरेको छ । रक्तसञ्चार केन्द्र हेटौंडामा दैनिक औसत ७ युनिट रगतको माग हुने गरेको केन्द्र प्रमुख टंक दाहालले जानकारी दिनुभयो । रगतको अभाव हुँदा रक्तसञ्चार केन्द्रका कर्मचारीले सम्पर्कमा रहेका रक्तदातालाई रक्तसञ्चार केन्द्रमै बोलाएर पनि रगत संकलन गरी मागअनुसारको आपूर्ति व्यवस्था मिलाउने गरेको छ ।