हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–४ स्थित बनकरिया बस्ती र मनहरी–३ को पश्चिमी भेगलाई लक्षित गरी शनिबार एकदिने निःशुल्क आँखा शिविरको आयोजना गरिएको छ । आँखा परीक्षण गराउन आएका मध्ये २० जनाको आँखामा मोतिबिन्दुको समस्या देखिएको छ । आँखा जाँच गराएका एक सय ८४ जना मध्ये २० जनामा मोतिबिन्दु देखिएको हो ।
शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पतालका स्वास्थ्यकर्मीले आँखा जाँच गरेका थिए । मोतिबिन्दु समस्या देखिएकाहरु निःशुल्क शल्यक्रियाका लागि सामुदायिक आँखा अस्पतालमा सोमबार ल्याइएको कार्यक्रम संयोजक सुशील सिंहले बताउनुभयो । बस्तीपुर जेसीज हाँडीखोला वर्ष २०२२ का अध्यक्ष तेजप्रसाद उप्रेती (रमेश) को सभाध्यक्ष तथा मनहरी—४ का वडाध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
बस्तीपुर जेसीजको आयोजना र हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो । शिविर सञ्चालनमा मनहरी गाउँपालिकाले आवश्यक समन्वय गरेको थियो । कार्यक्रममा पशुपतिनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यको पनि उपस्थिति रहेको थियो ।