एम्बुलेन्स हस्तान्तरणपछि पूर्वमन्त्री खतिवडासहित स्वास्थ्यकर्मी ।

हेटौंडाः भारतीय दुतावासको सहयोगमा प्राप्त भएको एम्बुलेन्स सोमबार मकवानपुर जिल्लाको उत्तरीक्षेत्रस्थित थाहा नगरपालिकाको आग्रा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ । दुतावासबाट प्राप्त भएको गाडी नेपाल सरकारको मापदण्ड अनुसार संचालन गर्न नमिल्ने भएपछि आग्रा स्वास्थ्य चौकीले स्वास्थ्य सामग्री थप गरी सोमबार स्वास्थ्य सामग्रीसहितको एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

संघीय सरकारको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको पहलमा गत मंसिर ४ गते थाहा नगरपालिका–८ मा स्वास्थ्य चौकीको उद्घाटन गरिएको थियो । स्वास्थ्य चौकीलाई एम्बुलेन्स आवश्यक भएकोले पूर्वमन्त्री खतिवडाको कै पहलमा एम्बुलेन्स प्राप्त भएको नेकपा समाजवादी पार्टीका केन्द्रिय परिषद् सदस्य गौतम बुद्ध थोकरले जानकारी दिनुभयो । एम्बुलेन्समा स्वास्थ्य सामग्री थप गर्न व्यवस्थापन समितिले पनि लगानी गरेको उहाँले बताउनुभयो । स्वास्थ्य चौकीमा एम्बुलेन्स संचालनमा आएपछि थाहा नगरपालिका वडा नम्बर ७ र ८ का स्थानीयले प्रत्यक्ष सेवा पाउने उहाँले जानकारी दिनुभयो ।

थाहा नगरपालिका ८ नम्बर वडा अध्यक्ष हेम कुमार थिङको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख विष्णु विष्ट, उपप्रमुख भरत गोपालीको पनि उपस्थिति रहेको थियो ।