पुलको उद्घाटन गरिदैँ ।

हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–७ मा झोलुङ्गे पुल उद्घाटन गरिएको छ । स्थानीय शंकर खोलामा निर्मित एक सय १४ दशमलब ३० मिटर लामो झोलुङ्गे पुलको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा र राक्सिराङ गाउँ पालिकाका अध्यक्ष राजकुमार मल्लले सोमबार संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो ।

सरकारको झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत् राक्सिराङ गाउँपालिकासमेतको लगानीमा ४६ लाख १८ हजार रुपैयाँमा विकट गाउँमा झोलुङ्गे पुल निर्माण गरिएको हो । पुल निर्माणमा राडो नेपालले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो । पुल निर्माण भएपछि राक्सिराङ ७ नम्बर वडाका गाइबाङ, दामराङलगायतका स्थानका २ सय ५० घरधुरीका करिब २ हजार जनसंख्या लाभान्वीत हुने गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिनुभयो ।
२०७८ वैशाखामा निर्माण सुरु भएको पुल गत असारमा निर्माण सम्पन्न भएको हो । पुल उद्घाटन कार्यक्रममा राक्सिराङ–७ का वडाध्यक्ष रामबहादुर प्रजा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलालगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

पुल उद्घाटन गर्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रजाले पुल निर्माणसँगै स्थानीयलाई सहजता भएको भन्दै त्यसको संरक्षणको दायित्व पनि स्थानीयको भएको बताउनुभयो । आफूले प्रदेशमार्फत् चालु आर्थिक वर्षमा कार्यान्वयन हुनेगरी राक्सिराङमा थुप्रै झोलुङ्गे पुलका योजना हालिएको पनि राज्यमन्त्री प्रजाले बताउनुभयो । गाउँपालिका अध्यक्ष मल्लले स्थानीय सरकार आइसकेपछि विकासले फड्को मार्ने क्रममा रहेको बताउनुभयो । विकट गाउँमा पुल र बाटो पु¥याउन गाउँपालिकाले धेरै कामहरु गरेको उहाँले सुनाउनुभयो ।