पत्रकार सम्मेलनमा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती र उपाध्यक्ष सीता पुलामी मगर ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाको बेरुजु रकम झण्डै साढे ३० करोड रुपैयाँ रहेको छ । बुधबार एक सय दिनको प्रगति विवरण सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले गाउँपालिकाको बेरुजु रकम ३० करोड ४२ लाख ९२ हजार रहेको जानकारी गराउँदै गाउँपालिकामा बेरुजु रकमलाई शून्य बनाउन लागिपरेको बताउनुभएकोे छ ।

अध्यक्ष कालाखेतीले कार्यपालिकाको ९ वटा बैठकले ७० वटा निर्णय गरेको र गाउँ कार्यपालिकाले गरेका अधिकांश निर्णय कार्यान्वयन भएको र कतिपय निर्णय कार्यान्वयन हुने क्रममा रहेको बताउनुभयो । मनहरी अस्पतालको अस्थायी भवन निर्माण गरी भवनबाट यहि भदौदेखि ओपीडी सेवासमेत विस्तार गरिने भएको छ ।

हाँडीखोला स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुका लागि निःशुल्क भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाले ७ नम्बर वडाबासीलाई सामुदायिक आँखा अस्पताल हेटौंडासँग सम्झौता गरी दैनिक आँखासम्बन्धी सेवाको निरन्तरताका साथै मोतियाबिन्दु भएका गाउँपालिकाभित्रका बिरामीहरुका लागि निःशुल्क उपचारको व्यवस्था गरेको छ ।

पालिकाको व्ययभारलाई कम गर्न रजैयाका विभिन्न ३ वटा भाडाका घरहरुमा रहेका कार्यालयलाई गाउँपालिकाको स्वामित्वमा रहेको लामिटारस्थित समावेशी भवनमा सारिएको छ । गाउँपालिकाले प्रत्येक वडा कार्यालयमा एकजना प्राविधिक जनशक्तिको व्यवस्था गर्ने निर्णय गरेको छ । रसिद जारी गर्दा हुनसक्ने हिनामिना र चुहावटलाई रोक्न र नदीजन्य पदार्थको बिक्री आयलाई व्यवस्थित, पारदर्शी बनाउन कर संकलन नाकामै अनलाइन विलिङका लागि सफ्टवेयर तयार गरी कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।

नेपाल सरकार र मनहरी गाउँपालिकाको संयुक्त ५० प्रतिशत लगानी र कृषकको ५० प्रतिशत लगानीमा १ करोड ५ रुपैयाँ बराबरको विभिन्न १४ किसिमका कृषि औजार गाउँपालिकाका कृषकहरुलाई वितरण गरिएको छ । संघ तथा प्रदेशबाट प्राप्त भएका र गाउँपालिकाको श्रोतबाट विनियोजन गरिएका आयोजनाको समयमा ठेका व्यवस्थापन नगर्दा विगतमा पनि काम पूरा नभई बजेट फ्रिज हुने समस्याको निराकरण गर्दै वडा नम्बर २ को सडक स्तरोन्नति, लामिटार चकरी–मकरी सडक स्तरोन्नति तथा ज्यामिरे केसबारी सडक स्तरोन्नतिको लागि ठेका आह्वान भइसकेको र थप ठूला आयोजनाका ठेक्का तयारी भइरहेको अध्यक्ष कालाखेतीले जानकारी दिनुभयो ।

गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यस्थित बसोबास गरेकाहरुलाई लालपुर्जा वितरण गर्ने कार्यमा लागिपरेको जनाएको छ । गाउँपालिकाले विपन्न नागरिकको शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । गाउँपालिकाभित्रका विपन्न र सर्वसाधारणलाई निःशुल्क र आधारभूत स्वास्थ्य सेवाको पहुँच पु¥याउन पालिकाले ३ करोड ४२ लाख बजेट बिनियोजन गरेको छ । शिक्षक दरबन्दी नभएका वा कम भएका विद्यालयमा शिक्षक व्यवस्थापनलगायत गर्न शिक्षा क्षेत्रमा ४ करोड १८ लाख ४७ हजार बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

प्रगति विवरण प्रस्तुत गर्ने क्रममा पत्रकारसँग कुराकानी गर्दै कालाखेतीले अघिल्लो सरकारमा रहेकाले अन्धाधुन्ध बालमैत्री गाउँपालिका घोषणा गरेको आरोपसमेत लगाउनुभयो । पालिकाभित्र बालश्रम भइरहेको विषयमा पत्रकारले प्रश्न सोधेपछि उहाँले यस्तो बताउनुभयो ।