हेटौंडाः मकवानपुरमा भदौ महिनाको विभिन्न मितिमा नाबालिकामाथि बलात्कार गरेको भन्दै २ वटा मुद्दा दर्ता भएको छ । ३ वटा बलात्कारको घटना दर्ता हुँदा २ जना नाबालिकालाई बलात्कार गरेको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सोही अवधिमा ४८ वर्षीया एक जना महिलाको बलात्कारपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालु आर्थिक वर्षको साउन महिनाको विभिन्न मितिमा बलात्कारका ४ वटा मुद्दा दर्ता भएका थिए । साउनमा दर्ता भएका ४ वटै मुद्दा नाबालिकामाथि बलात्कारको रहेको प्रहरीले जनाएको छ । साउनमा ११ वर्षीया एक जना र १४ वर्षका ३ जना नाबालिकालाई बलात्कार गरेको मुद्दा दर्ता भएको हो ।
यस्तै, गत आर्थिक वर्ष २०७८÷०७९ मा ४२ वटा बलात्कारको मुद्दा प्रहरीमा दर्ता भएको छ । मकवानपुरको १० पालिकामध्ये हेटौंडा उपमहानगरपालिकाबाट सबैभन्दा बढी बलात्कारको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बुधबार विभिन्न ४७ वटा मुद्दाका ६३ जना थुनुवा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको प्रहरीले जनाएको छ । ६० जना पुरुष र ३ जना महिला थुनुमा रहेको प्रहरीले बताएको छ । सबैभन्दा बढी लागूऔषधको मुद्दामा थुनुवा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता टेकबहादुर कार्कीले समाजमा हुने जघन्य अपराध तथा आफूमाथि भएका अन्यायविरुद्व भएका घटनाहरु बाहिर ल्याउनुपर्छ भन्ने जनचेतना नागरिकमा भएपछि बलात्कारका घटना बाहिर आउने क्रम बढेको बताउनुभयो । ‘पीडितहरुलाई कहाँ उजुरी दिने, कस्तो न्याय पाइन्छ भन्ने जानकारी पहिला हुँदैन थियो’, प्रहरी प्रवक्ता कार्कीले भन्नुभयो– ‘जसले गर्दा यस्ता जघन्य अपराधहरु समाजमा नै सिमित हुने गरेका थिए ।’ अहिले पीडितलाई कहाँ जाँदा आफूले न्याय पाइनछ भन्ने चेतना भइसकेपछि यस्ता अपराध बाहिर आएको उहाँको भनाइ छ ।
शिक्षा तथा चेतनाको कमी, गरिबी र मादक पदार्थ सेवनका कारण बलात्कारका घटना बढेको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई प्रलोभनमा पारेर बलात्कार गर्ने गरेको उहाँले दावी गर्नुभयो । यस्तै, मादक पदार्थ सेवन गर्नेहरुबाट पनि बलात्कार हुने गरेको उहाँले बताउनुभयो ।