हेटौंडाः हेटौंडा–१ स्थित अमर माविमा बालकक्षादेखि ३ कक्षासम्म पढ्ने विद्यार्थीका अभिभावकबीच अन्तरक्रिया तथा अभिभावक अभिमुखीकरण कार्यक्रम भएको छ । विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीको सभाध्यक्षता र विद्यालय व्यवस्थापन समितिका सदस्य मानबहादुर लामाको प्रमुख आतिथ्यमा मंगलबार भएको कार्यक्रममा सहायक प्रधानाध्यापकद्वय डीबी बर्तौला र विश्वाराज भण्डारी साथै शिक्षक प्रतिनिधि अकुरप्रसाद गौतमको उपस्थिति रहेको थियो ।
अन्तरक्रिया कार्यक्रमको औचित्यमाथि प्रधानाध्यापक मालती उप्रेतीले सहजीकरण गर्दै विद्यालयमा नियमित अभिभावक आउनु पर्ने, विद्यालयको गतिविधिमा ध्यान दिँदै सल्लाह सुझाल दिन र परीक्षा नजिकिँदै गर्दा नानीहरुको पढाइमा ख्याल गर्न अभिभावकलाई अनुरोध गर्नुभयो । सहायक प्रधानाध्यापक डीबी बर्तौलाले तल्लो कक्षाका भाइबहिनीहरुको पढाइमा सुधार ल्याउन अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिको त्रिपक्षीय ध्यान हुनु पर्ने साथै बढी समय घरमा बालबालिका हुने हुँदा अभिभावकले बढी ध्यान दिनु पर्ने कुरामा जोड दिनु भयो । प्रमुख अतिथि मानबहादुर लामाले अभिभावकले बालबालिकाले गृहकार्य गर्छ कि गर्दैन साथै स्कुलले कस्तो पढाइ गर्दैछ भन्ने कुराको निगरानी गर्नुपर्ने र सबैजना मिलेर अगाडि बढ्न सकेमा अमर मावि शैक्षिक गन्तव्यको केन्द्र बन्न सक्ने कुरामा जोड दिनु भयो । सहभागी अभिभावक हरुले सकारात्मक ढंगबाट गरिएको यस्तो कार्यक्रमले बालबालिकाको भविष्य बन्ने हँदा आफूहरु सचेत हुँदै बालबालिकाको पढाइमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
