हेटौंडाः हेटौंडा–७, नागस्वतीमा जारी नागस्वती राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता अन्तर्गत ठमेल चिया पप भेट्रान्स फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा जोरपाटी भेट्रान्सलाई १–० गोलले पराजित गर्दै ठमेल भेट्रान्स फाइनलमा प्रवेश गरेको हो ।
ठमेल भेट्रान्सलाई जित दिलाउन विजय गुरुङले निर्णायक गोल गरे । गुरुङ म्याच अफ द म्याच घोषित भए । ठमेल भेट्रान्स अब बुधबार दिउँसो हुने फाइनल खेलमा आयोजक नागस्वती भेट्रान्स र पोखराको बगरभाई खलक बीचको विजेतासँग खेल्नेछ । मंगलबार भएको क्वाटरफाइनलको अन्तिम खेलमा कोटेश्वर भेट्रान्सलाई ३–१ गोलअन्तरले पराजित गर्दै आयोजक नागस्वती भेट्रान्स सेमिफाइनल प्रवेश गरेको हो ।
यस्तै थापागाउँ भेट्रान्सलाई पराजित गर्दै बगरभाई खलक सेमिफाइनलमा प्रवेश गरेको हो । नागस्वती र बगरभाई बीचको सेमिफाइनल खेल मंगलबार नै हुने कार्यतालिका रहे पनि पानी परेको कारण स्थगित भएको र खेल बुधबार बिहान हुने आयोजक समितिका सदस्य प्रदीप गौतमले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल बुधबार दिउँसो हुने जनाइएको छ । प्रतियोगिताको विजेता टिमले नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।











