सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेसँगै उम्मेदवारी सिफारिस र घोषणाको क्रम सुरु भएको छ । निर्वाचन गराउने जिम्मेवारी पाएको निर्वाचन आयोगले पनि निर्वाचनको आवश्यक तयारी गरिरहेको छ । समानुपातिक निर्वाचनमा सहभागी हुनका लागि दल दर्ताको काम सम्पन्न भइसकेको छ भने राजनीतिक दलहरुका लागि चुनाव चिन्हसमेत निर्धारण गरिसकेको छ । निर्वाचनको तयारी स्वरुप राजनीतिक दलहरुले प्रदेश तथा संघीय निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवारको नामावली पार्टीको माथिल्लो कमिटीमा सिफारिस गर्न थालिसकेका छन् । मकवानपुर जिल्लामा पनि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत माओवादीलगायत दलहरुले सम्भावित उम्मेदवारको नामावली सिफारिस गरिरहेका छन् । स्वतन्त्र उम्मेदवारीको घोषणा पनि सँगसँगै भइरहेको छ ।
वर्तमान संविधानअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६५ र प्रदेशसभा सदस्य निर्वाचनका लागि ३३० निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । घोषित निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरुमा चुनावी चहलपहल बढ्दै गएको छ । आफू र आफ्ना पक्षकालाई उम्मेदवार बनाउन दलका नेताहरु सक्रिय बनिरहेका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनले काठमाडौं, धरान तथा धनगढीमा स्वतन्त्र उम्मेदवार चुनाव जितेको र स्वतन्त्ररुपमा निर्वाचित जनप्रतिनिधिको कार्यशैलीलाई आम नागरिकले रुचाइरहेको कारण आगामी संसदीय निर्वाचनमा स्वतन्त्ररुपमा उम्मेदवारी दिन चाहनेहरु पनि हौसिएका छन् । निर्वाचनले राजनीतिक तथा आर्थिक गतिविधिमा तिव्रता ल्याउने भएका कारण राजनीतिक दलका नेता, कार्यकर्ता तथा आम सर्वसाधारणसमेत उत्साहित हुने गर्दछन् ।
लोकतन्त्रमा देशको सार्वभौमसत्ता जनतामा निहित भएको मानिन्छ । जनताले आफूमा निहित सार्वभौमसत्तालाई आवधिक निर्वाचनको समयमा अमूल्य मत जाहेर गरेर आफ्ना प्रतिनिधि छनोट गर्दछन् र तिनै प्रतिनिधिलाई मुलुकको शासन सञ्चालनको जिम्मेवारी सुम्पन्छन् । यसरी अभ्यास हुने सार्वभौमसत्ताको प्रयोगमा आवधिक निर्वाचनमा विजयी भएकाहरुसँग जति अवधिको लागि विजयी भएको हो, सो अवधिभर जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने अधिकार रहन्छ । यसकारण जनताको प्रतिनिधि हुन चाहने दलीय वा स्वतन्त्र उम्मेदवारहरु जनताले स्वीकार गरेका अर्थात् रुचाएका हुनुपर्छ । अहिले जनताको रुचि युवा तथा विगतमा अवसर नपाएका व्यक्तिप्रति बढी देखिएको छ । दलहरुले उम्मेदवार चयन गर्दा जनताको रुचि तथा अपेक्षालाई ख्याल गर्नुपर्ने देखिएको छ । उम्मेदवारको रुपमा चयन भएका व्यक्तिले समेत जनताको परिवर्तित चाहनालाई बुझेर सोही अनुसारका प्रतिवद्धता र व्यवहार प्रदर्शन गर्नु आवश्यक बनेको छ ।
देशको आर्थिक समृद्धि, राजनीतिक स्थिरता र सामाजिक रुपान्तरणको चाहनाले आम नेपाली नागरिक निर्वाचनको प्रतीक्षामा छन् । निर्वाचनबाट चयन हुने जनप्रतिनिधिको कार्यशैली तिनै नागरिकको आशा, भरोसा र विश्वासलाई कायम राख्ने किसिमको हुनुपर्छ । लोकतन्त्रको एउटा महत्वपूर्ण विशेषताको रुपमा निर्वाचनलाई लिइन्छ । निर्वाचनमा मतदान गर्न पाउनु नागरिकको सबैभन्दा महत्वपूर्ण अधिकार हो भने सक्षम र योग्य व्यक्तिलाई मतदान गरेर निर्वाचित गर्नु नागरिकको महत्वपूर्ण कर्तव्य पनि हो । नेपाली नागरिक सचेत र चलाख बन्दै गइरहेका छन् । विगतमा जस्तो दलीय आस्थाभन्दा पनि उम्मेदवारको चरित्र केलाएर क्षमतावान व्यक्तिलाई मतदान गर्ने सम्भावनालाई दलहरुले बेवास्ता गर्नु हुँदैन । यिनै तथ्यलाई उम्मेदवारी चयनको समयमै राजनीतिक दलहरुले मनन गर्न सकेनन् भने त्यसको परिणाम सुखद् नहुन सक्छ ।
