हेटौंडाः देशका १६ नगरपालिका र ६ वटा संस्था सम्मिलित सिटिनेट नेपालको राष्ट्रिय बैठक हेटौंडामा भएको छ । हेटौंडामा बैठक आयोजना गरेसँगै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा असोजको पहिलो साता हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनुहुने भएको छ । असोजको पहिलो साता मेलेसियाको राजधानीमा सिटिनेटको निर्वाचनसँगै नेतृत्व परिवर्तन हुने कार्यतालिका रहेको छ ।
क्रियाशील रहेको मानव बस्ति व्यवस्थापनका लागि स्थानीय निकायहरुको क्षेत्रीय सञ्जाल र एशिया प्रान्तमा दिगो विकासका लागि प्रतिवद्ध शहरी सरोकारवालाको सबैभन्दा ठूलो संस्थाको आउँदो असोजको पहिलो साता हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनुपूर्व स्थानीय तहका प्रमुख तथा प्रतिनिधीहरुको बैठक हेटौंडामा भएको हो । दुइदिन सञ्चालन भएको बैठकमा ४ महानगर, ३ उपमहानगर र ४ नगरपालिकाका प्रमुखसहित प्रतिनिधी सहभागी थिए । सिटिनेटको नेपाल क्षेत्रको अध्यक्ष रहेको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको अध्यक्षतामा भएको बैठकले संस्थालाई नेपालमा क्रियाशील बनाउन सदस्यता बढाउनेसहित विधानलाई समयानुकुल परिस्कृत गर्नका लागि तानसेन नगरपालिकालाई जिम्मेवारी दिएको छ ।
संस्थाको सचिब समेत रहेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठको नेतृत्वमा असोजमा मलेसियामा हुने अन्तर्राष्ट्रिय सम्मेलन पश्चात कार्य अघि बढाउने र अर्को बैठक धनगढी नगरपालिकामा आयोजना हुने निर्णय गरेको छ । बैठकमा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख तथा सिटिनेटका कार्यकारी सदस्य चिरीबाबु महर्जनले चुनावी प्रतिष्पर्धामा उत्रने घोषणा गर्नुभएको छ । सिटिनेट सम्मेलनमा सहभागी हुनुपूर्व ललितपुरले निर्वाचन प्रक्रियामा सहभागी हुन उम्मेदवारी दर्ता गरिसकेको मेयर महर्जनले जानकारी दिनुभयो ।
१२ बर्ष अघिबाटै नेपाल क्षेत्रको अध्यक्ष रहेको हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको बैठकमा संस्थाको बारेमा नवनिर्वाचिन बनेका विभिन्न स्थानीय तहका प्रमुखलाई जानकारी गराइएको थियो । कार्यक्रममा स्थानीय तहले गरेको काम र हासिल गरेको असल अभ्यास बारे प्रस्तुतीकरण गर्दै सकारात्मक सन्देश आदानप्रदान गरिएको थियो । कार्यक्रममा सिटिनेटले नगर तथा सदस्य संघसंस्थाहरुबीच सम्बन्ध स्थापित गर्दै ज्ञानको आदान–प्रदान गर्ने र दिगो तथा सुरक्षित शहरहरु विकास गर्न प्रतिबद्धता गर्ने गर्दछ ।
संस्थाले क्षमता अभिवृद्धि, शहरहरु बीचको सहकार्य र परियोजनाहरुको माध्यमबाट सदस्यहरुलाई जलवायु परिवर्तन, प्रकोप, दिगो विकासका लक्ष्यहरु र बढ्दो पूर्वाधारहरु सम्बन्धी कार्यमा सहयोग पु¥याउने बताइएको छ । सन् १९८७ मा स्थापना भएको शहरहरुको संजालले १ सय ३५ भन्दा बढी नगरपालिका, गैरसरकारी संस्था, निजी कम्पनीहरु र अनुसन्धान केन्द्रहरु सदस्य रहेको बैठकको सहजकर्ता नेपाल राष्ट्रिय अध्याय भूकम्प प्रविधि समाज नेपालले जनाएको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, बिरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, भिमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीलगायत ६ वटा विभिन्न विषयगत संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
