फाइल तस्बीर ।

हेटौंडाः हेटौंडा–७ नागस्वतीमा जारी नागस्वती राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा हेटौंडा भेट्रान्स क्लबले विजयी सुरुवात गरेको छ । आइतबार बिहान भएको खेलमा भुटनदेवी भेट्रान्सलाई १–० गोलले हराउँदै हेटौंडा भेट्रान्सले विजयी सुरुवात गरेको हो ।

हेटौंडा भेट्रान्सलाई जित दिलाउन अजय मानन्धरले निर्णायक गोल गरे । हेटौंडा भेट्रान्सले अब भोलि सोमबार पोखराको बगभाई खलकसँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत आइतबार दिउँसो ३ खेल हुने आयोजक नागस्वती भेट्रान्स क्लबका उपाध्यक्ष भरत तितुङले जानकारी दिनुभयो । आइतबार दिउँसो २ बजे हुने खेलमा अभिषेक चर्च भेट्रान्स र कालभैरव भेट्रान्स भिड्नेछन् ।

यस्तै दिउँसो ३ बजे हुने खेलमा कोटेश्वर–११ भेट्रान्स र सिमरा भेट्रान्स भिड्नेछन् भने दिउँसो ४ बजे हुने खेलमा ठमेल चिया पप भेट्रान्स र वीरगञ्ज भेट्रान्स बीच प्रतिस्पर्धा हुनेछ । नक आउट चरणमा भइरहेको प्रतियोगितामा १८ भेट्रान्स टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।