सौराहाः बालबालिकाको संरक्षण र विकासको क्षेत्रमा बागमती प्रदेश सरकार प्रतिबद्ध भएको बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताउनुभयो । शनिबार चितवनको सौराहामा बाल विकास समाज काठमाडौंले आयोजना गरेको बाल संरक्षणका सवालः चुनौती र समाधान सम्बन्धी बागमती प्रदेशस्तरीय अन्तरक्रियामा मन्त्री मोक्तानले बालबालिकाको सचेतनाका लागि प्रदेश सरकारले ठोस कार्यक्रम ल्याएको बताउनुभयो ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा भएको कार्यक्रममा बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रल्हाद लामिछने बागमती प्रदेशको बाल संरक्षण र प्रवद्र्धनको क्षेत्रमा नीति निर्माण र कार्यान्वयनका लागि आयोगले सहयोग गर्ने बताउनुभयो । वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग र राष्ट्रिय बाल संरक्षण सञ्जालसँगको सहकार्यमा भएको कार्यक्रममा वल्र्ड भिजन इन्टरनेसनल नेपालका फिल्ड अपरेसन डाईरेक्टर अनुप रानाले नेपाल सरकारको बालबालिकाको क्षेत्रमा परेका प्राथमिकताको क्षेत्रमा वल्र्ड भिजनको सहकार्य रहेको र आगामी दिनमा सहकार्य गर्ने योजना रहेको बताउनुभयो ।
अन्तरक्रियाले बाल अधिकार र संरक्षणका विद्यमान ऐन नियमको बारेमा थप जानकारी प्राप्त भएको र आफ्नो पालिकामा बालबालिकाको क्षेत्रमा प्रभावकारी ढंगले नीतिगत व्यवस्था गरी कार्य गर्ने थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का कार्यक्रम व्यवस्थापक नमुना भुषाल, संघीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिब बसन्त कुमार, बाल अधिकार तथा कानुन अध्येता चन्दिका खतिवडाले नेपालमा बाल अधिकार, कानुन बालमैत्री पालिका र बाल विवाह मुक्त अभियानको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा बागमती प्रदेश अन्तर्गत मकवानपुर, धादिङ, चितवन, सिन्धुली जिल्लाका २० स्थानीय तहका उपप्रमुख तथा सामाजिक विकास शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बाल विकास समाजका अध्यक्ष सुवास गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बाल विकास समाजका महासचिव काजी बाबु पाण्डेयले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका बालश्रम महाशाखा प्रमुख बसन्त कुमार, बागमती प्रदेश सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख गोपाल कँडेल लगायतको आतिथ्य रहेको छ ।











