हेटौंडाः शब्द संयोजन गरेर खेलिने खेलअर्थात् स्क्र्याबलको जिल्लास्तरीय छनोट भएको छ । शुक्रबार हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी बोर्डिङ स्कूलमा ९ वटा विद्यालयका विद्यार्थीको सहभागितामा जिल्लास्तरीय छनोट प्रतियोगिता भएको हो । जिल्लास्तरीय प्रतियोेगिताबाट छनोट भएका ६ जना विद्यार्थी राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछन् ।
बालजागृतिबाट युनिक ढुंगेल, प्रसिद्ध तिमल्सिना, आरुश राजथला र रोमिशा तामाङ छनोट भएका छन् भने नवोदय शिशु सदनबाट प्रितिका कार्की र बंशगोपाल माध्यमिक विद्यालयबाट निशान्त दाहाल छनोट भएका छन् । स्क्र्याबल क्लब पोखराको आयोजना तथा बालजागृति स्कूलको प्रायोजनमा भएको प्रतियोगितामा २० जना विद्यार्थीको सहभागिता रहेको थियो । नेशनल स्क्र्याबल च्याम्पियनसीप आगामी मंसिर महिनाको पहिलो हप्तामा सञ्चालन गरिने स्क्र्याबल क्लब पोखराका अध्यक्ष केशव पराजुलीले जानकारी दिनुभएको छ ।
जिल्लास्तरीय छनोट प्रतियोगितामा बालजागृति इंग्लिस सेकेण्डरी स्कूलसँगै भीमफेदी–२, भैंसेस्थित कृष्ण मावि, हेटौंडा–४ स्थित नवोदय शिशु सदन मावि, ब्रह्मदिक् एकेडेमी, हेटौंडा–६ स्थित वंशगोपाल मावि, हेटौंडा–२ स्थित ज्ञानोदय बालबाटिका मावि, हेटौंडा–११ स्थित जेम्स इंग्लिस स्कूल, हेटौंडा एकेडेमी र मनहरी गाउँपालिकास्थित युनाइटेड इंग्लिस बोर्डिङ स्कूलका विद्यार्थीको सहभागिता रहेको थियो ।
छनोट प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्य तथा मकवानपुर स्क्र्याबल क्लबका संयोजक विवश जंग थापाको सभाध्यक्षतामा भएको थियो । विद्यार्थीमा शब्दभण्डार बढाउनका लागि स्क्र्याबल खेल प्रभावकारी हुने बताइन्छ । पोखरामा केन्द्रीय कार्यालय रहेको स्क्र्याबल क्लबको देशका ४० भन्दा बढी जिल्लामा विस्तार भएको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । अंग्रेजीका साथै नेपाली भाषा र गणित विषयको पनि स्क्र्याबल खेल आयोजना गर्न सकिने बताइएको छ ।