हेटौंडाः हेटौंडा निवासी सुजित विडारीको निर्देशनमा बनेको “ऐना झ्यालको पुतली” चलचित्रको शुक्रबार हेटौंडामा विशेष शो प्रस्तुत गरिएको छ । हेटौंडा–४ नारायणी मलस्थित एनएस सिनेमामा विशेष प्रदर्शनी भएको हो । भदौ २४ गतेबाट आम प्रदर्शन हुन लागेको चलचित्रको निर्देशकको गृहनगरमा विशेष प्रदर्शन गरिएको हो ।
दुई वर्षअघि नै तयार भए पनि कोभिड–१९ का कारण प्रदर्शनमा समस्या झेलिरहेको चलचित्र प्रदर्शनको मिति केहि दिन मात्रै बाँकी छ । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवममा सहभागी भई उत्कृष्ट चलचित्रको विधामा मनोनयनमा पर्न सफल ऐना झ्यालको पुतलीले मुख्यतः बाल्यकालको कथा बोलेको छ । मुलुकको पहाडी, हिमाली क्षेत्रमा न्यून आय भएका परिवारका बालबालिकाले भोग्नु परेको समस्यालाई जीवन्त ढंगले प्रस्तुत गर्न निर्देशक सफल भएका छन् ।
कथा पनि आफैंले तयार पार्नुभएका निर्देशक विडारीले आजका हरेक बयस्कले आफ्नो बाल्यकालको कथाको रुपमा चलचित्र तयार भएको छ । २०५२ सालको सेरोफेरोको कथामा आधारित चलचित्रमा बालकलाकारहरुको अभियनय जीवन्त छन् । तत्कालिन समयको कथा तयार पार्ने क्रममा गुगलबाट महेन्द्रमाला पुस्तकको प्रकाशन गर्न कभर र सम्झिएको पृष्ठ तयार पारिएको निर्देशक विडारीले बताउनुभयो ।
कलाकार सिरु बिष्टले मनैदेखि छुने कथामा चरित्र निर्वाह गर्न पाएको बताउनुभयो । विशेष प्रदर्शनीमा नगर प्रमुख मीना कुमारी लामाको पनि सहभागिता रहेको थियो । उहाँले सबैले हेर्नुपर्ने कथा प्रस्तुत गरेको प्रतिक्रिया जनाउनुभयो । नगर प्रमुख लामाले महिला, आमा, छोरीको कथालाई जीवन्त ढंगले प्रस्तुत गर्न सफल रहेको टिप्पणी गर्नुभयो ।