हेटौंडेली निर्देशक सुजीत बिडारीको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र “ऐना झ्यालको पुतली” भदौ २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । आम प्रदर्शनमा आउनुअघि शुक्रबार हेटौंडामा सन्चारकर्मी, शिक्षक, युवाको उपस्थितिमा विशेष प्रदर्शनी समेत भएको छ । विशेष प्रदर्शनीका लागि हेटौंडा आउनुभएका निर्देशक सुजीत बिडारीसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
ऐना झ्यालको पुतलीको निर्देशन गर्नुभयो यो तपाईको पहिलो चलचित्र हो । चलचित्र तयार भएको २ वर्षपछि भदौ २४ गतेबाट प्रसारण हुँदैछ, दर्शकलाई यत्ती लामो पर्खाइ किन गराउनुभयो ?
विडारीः सुटिङ् २०७५ सालमा सकिएको थियो । जब चलचित्र सकियो तब कोरोना महामारी लगायतका कारणले ढिला भयो तर यो चलचित्र नेपाली थियटरमा देखाउन बनाईएको हो ।
अब उपयुक्त समय भन्ने ठहर भयो ?
विडारीः चलचित्र बनाएपछि उपयुक्त समय भन्न फरक पर्दै नहोला । यदि कन्टेन्ड बलियो छ भने उपयुक्त समय भन्ने हुँदैन तर कोरोना महामारी आयो अनि अहिले नेपाली सिनेममा अपिलिङ सिनेमा आइराखेका छैनन् ।
अहिले ऐना झ्यालको पुतली चलचित्र हेर्न किन जानुपर्छ/दर्शकलाई के कुराले तान्छ ?
विडारीः जब मैले आफ्नो बाल्यकाल अनुभव लेखेँ, साथीभाई सुनाएँ । जतिले सुन्नुभयो सबैले तेरो कथा नभएर मेरो कथा जस्तो लाग्यो भनेर भन्नुभयो । सबैले तेरो चलचित्र मैले निर्माण गर्छु भन्नुभयो । यसरी सिनेमा बनाउन अगाडि बढियो, यो हुँदा हुँदा मैले नचिनेका स्वीट्जरल्याण्ड, दक्षिण कारियाका दर्शकले ईमेल मार्फत मेरो जीवन कथा कसरी तपाईले नेपालमा बसेर भन्नुभयो भन्ने प्रतिक्रिया दिए । दर्शकले चलचित्रमा आफुलाई पाउनुहुन्छ, आफ्नो परिवार पाउनुहुन्छ त्यसैले यो चलचित्र मेरो नभएर दर्शकको चलचित्र हो ।
यो चलचित्रको सार कुरा के हो/यसले के बताउनु खोज्छ ?
विडारीः यस चलचित्रमा एउटा ९ वर्षको गाउँमा बस्ने छोराले आफ्नो परिवारको आमा, दिदी र समाजलाई कसरी हेर्छ र त्यहाँ भित्र कस्ता कस्ता समस्या छन् र समस्यालाई कसरी समाधान गर्छ भन्ने कुरा चलचित्रको रोचक कुरा हो । चलचित्रले सादगी देखाउँछ ।
यसमा कथा र निर्देशन तपाईको रह्यो, चलचित्रमा कथा र निर्देशिका मात्र छ ?
विडारीः आफुले कथाको बलियो पार्ट आफुले भन्न मिल्ला नमिल्ला तर बाहिरबाट राम्रै प्रतिक्रिया आएको छ ।
चलचित्र काठमाडौं लगायत फेस्टिबलमा प्रिमियर गराउनुभयो, अझै पनि प्रिमियर हुँदैछ एकदम ध्यान दिएर हेर्ने दर्शकले औँल्याएको कमजोरी के पाउनु भयो ?
विडारीः अहिलेसम्म जतिले हेर्नुभयो कसैले औँल्याउनुभएको छैन र औँल्याएको कमजोरी मैले पाएको छैन । एउटा कमजोरी सबैले भनेको हजुरको यती राम्रो सिनेमाको प्रचार भएन भन्ने एउटा औँल्याएको कमजोरी हो ।
२४ गतेपछि सिनेमा हलमा कति संख्यामा कति जाँदैछ यो सिनेमा ?
विडारीः हलहरुको संख्या अहिलेसम्म फिक्स भएको छैन । किनभने बलिउड सिनेमा पनि आउँदै छ । त्यो आयो भने थोरै मात्र हलहरु पाईन सक्छ नत्र धेरै पाईन सक्छ । त्यसैले संख्या अहिलेसम्म फिक्स भएको छैन ।
तपाईको निर्देशनमा थप चलचित्र आउने थप योजना के छ ?
विडारीः २/३ वटा कथा तयारीमा राखेको छु तर कुन बनाउने भन्ने निर्णय गरेको छैन । सबै मनले खाएका विषय छन् अब यो प्रसारण गरौँ अनि नयाँ बनाउने योजना छ ।