नेकपा एमाले प्रदेश सभा समन्वय कमिटी मकवानपुर–१ (ख)को बैठक ।

हेटौंडाः आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमाले मकवानपुरले चारै प्रदेशसभा निर्वाचन क्षेत्रको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । शुक्रबार मकवानपुर जिल्लाका चारवटै प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठक बसी केन्द्रीय, प्रदेश र जिल्ला कमिटीको परिपत्रअनुसार उम्मेदवारको नाम सिफारिस गरिएको पार्टी जिल्ला सचिव नवीन सिग्देलले बताउनुभयो ।

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा (क) बाट अणराज जर्गामगर, राजकुमार तिमल्सिना, दिलबहादुर घिसिङ, कृष्णप्रसाद चौलागाईं, कमल बिष्ट, नारायण सापकोटा, दीपक न्यौपाने र सीता बिष्टको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर १ कै प्रदेशसभा (ख) बाट रघुनाथ खुलाल, श्रीधर पोखरेल, एकालाल श्रेष्ठ, भोजराज ढकाल, सम्राट तुम्बाहाम्फे, धुव्रप्रसाद चौलागाई, आरती पाठक, कुमार केसीको नाम सिफारिस गरिएको छ ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा (क) बाट बलराम बल, विष्णु ढकाल र चमेली बलको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) बाट लालबहादुर थापा, सुरेन्द्र पाठक, श्यामप्रसाद ढकाल र पम्फा रोक्काकोे नाम सिफारिस गरिएको छ । जिल्लामा प्रदेशसभा सदस्य निर्वाचित हुने ४ सिटका लागि २२ जनाको नाम सिफारिस गरिएको पार्टी सचिव सिग्देलले बताउनुभयो । प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले गरेको सिफारिसमा भदौ १९ गते बस्ने जिल्ला सचिवालय र भदौ २० गते बस्ने जिल्ला कमिटी बैठकले थप सुझावसहित प्रदेश कमिटीमार्फत् केन्द्रीय कमिटीमा नाम सिफारिस गरेर पठाइने उहाँले बताउनुभयो ।

शुक्रबार चार वटै प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको छुट्टाछुट्टै बसेको बैठकमा पार्टीका केन्द्रीय कमिटीका सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, जुनेली श्रेष्ठ, भारती पाठक, केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेल, केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पौडेल, प्रदेश कमिटी उपसचिव महेश बर्ताैला, प्रदेश कमिटीका सदस्यहरू, जिल्ला पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।