स्वर्गीय श्यामप्रसाद शर्माको अर्धकदको शालिक अनावरणपछि सामुहिक तस्विर खिचाउँदै ।

हेटौंडाः बामपन्थी नेता, साहित्यकार तथा पत्रकार स्वर्गीय श्यामप्रसाद शर्माको अर्धकदको शालिक शुक्रबार अनावरण गरिएको छ । हेटौंडा– १८, हर्नामाडीस्थित गुम्बाडाँडामा रहेको श्यामप्रसाद स्मृति पार्कमा रहेको शर्माको शालिकलाई बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अनावरण गर्नुभएको हो ।

शालिक अनावरण गर्दै मुख्यमन्त्री पाण्डेले नेपाली माटो सुहाउँदो माक्र्सवादी विचार प्रवाह गर्दै साहित्य, राजनीति र पत्रकारिताको क्षेत्रबाट शर्माले महत्वपूर्ण योगदान दिएको बताउनुभयो । समाज परिवर्तनका लागि विचार महत्वपूर्ण विषय भएकाले यस्ता अभियन्ताहरुको सधैं सम्मान गर्नुपर्ने उहाँको धारणा छ ।

मुख्यमन्त्री पाण्डेको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका उपाध्यक्ष इन्द्रप्रसाद नेपालको सभाध्यक्षतामा कार्यक्रम भएको हो । सन् १९८६ असार ६ गते मकवानपुरको तत्कालीन मन्थली गाविसमा जन्मनुभएका शर्माको एक दर्जन बढी साहित्यिक कृति प्रकाशित छन् । कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देल, नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष सूर्यचन्द्र न्यौपानेलगायतको उपस्थिति थियोे ।