बालविवाह कानुनीरुपमा दण्डनीय भएको देशमा बालिका वा किशोरी आमा बनिरहेका छन् । सानै उमेरमा विवाह गर्ने क्रम रोक्न नसक्दा किशोरी आमा बन्नेहरुको संख्या पनि बढ्दै गएको छ । मकवानपुर जिल्लाका अधिकांश पालिकाहरु बालविवाहमुक्त घोषणा भएर धमाधम बालमैत्री पालिका घोषणा भइरहँदा मकवानपुरमै दिनहुँ किशोरी आमा बन्नु विडम्बना हो । मकवानपुरको हेटौंडा अस्पतालमा आएर सुत्केरी हुने किशोरीको संख्या पछिल्लो समय बढ्दै गएको छ । जिल्लाका अन्य स्वास्थ्य संस्था तथा घरमै प्रसुति गराउने किशोरीको संख्या पनि उल्लेख्य रहेको पाइन्छ । २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाउने अवस्थामा २० वर्षभन्दा कम उमरका किशोरी आमा बन्नु चुनौती बनेको छ ।

हेटौंडा अस्पतालमा प्रसुति गराउन आउनेमध्ये औसत ७ प्रतिशत किशोरी रहने गरेको तथ्यांक छ । गत आर्थिक वर्ष २०७८/०७९ मा हेटौंडा अस्पतालमा प्रसुति गराइएका ३ हजार ३ सय ५९ गर्भवतीमध्ये २ सय ३५ किशोरी रहेका थिए । यो तथ्यांकले हेटौंडा अस्पतालमा प्रसुति गराउने किशोरी आमाको संख्या मासिक औसत २० जना रहेको देखिन्छ । चालु आर्थिक वर्षको साउन महिनामा १८ जना गर्भवती किशोरी आमा बनेको हेटौंडा अस्पतालको तथ्यांक छ । साउनमा ३ सय ४८ जना गर्भवती सुत्केरी हुँदा १८ जना किशोरी सुत्केरी भएका हुन् । सुत्केरी भएका कुल संख्याको आधारमा किशोरीको संख्या करिब ५ प्रतिशत देखिन्छ । गत असारमा भने ३० जना किशोरी आमा बनेका थिए । हेटौंडा अस्पतालमा असार महिनामा सुत्केरी भएका २ सय ९८ मध्ये ३० जना किशोरी रहेका थिए । असार महिनामा हेटौंडा अस्पतालमा सुत्केरी हुनेमध्ये करिब १० प्रतिशत किशोरी रहेको पाइन्छ ।

कानुनले महिला तथा पुरुष दुबैको विवाहयोग्य उमेर २० वर्ष तोकेको छ । तर, २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने क्रम रोकिएको छैन । २० वर्षभन्दा कम उमेरमा विवाह गर्नेमात्र नभई २० वर्षभन्दा कम उमेरमै आमा बन्नेको संख्या उल्लेख्य रहनु चिन्ताको विषय बनेको छ । बालापनमा रमाउने, खेल्ने तथा लेखपढ गर्ने उमेरमै विवाह गर्नु उचित हुँदैन । सानै उमेरमा गरिने विवाहले विविध समस्या निम्त्याउने गरेको छ । विगतमा अभिभावककै दवावमा हुने बाल विवाह पछिल्लो समय केटा–केटीको इच्छामा हुने गरेको छ । अभिभावकहरु बालविवाहबारे सचेत बन्दै जाँदा स्वयम् बालबालिका भने आफूखुशी विवाहमा रमाउन थालेका छन् । बालबालिकाबीचको प्रेम सम्बन्ध, क्षणिक समयको रमझम तथा आवेशमा हुने गरेको बालविवाह लामो समय टिक्न नसकेका दृष्टान्त थुप्रै छन् । यस्ता विवाह नै अधिकांश सम्बन्धविच्छेदको कारणसमेत बनिरहेको छ ।

बालविवाह गर्नु कानुनी अपराध हो । बालविवाहलाई एउटा जटिल सामाजिक समस्या तथा विकृतिको रुपमा पनि लिइने गरेको छ । सानै उमेरमा गरिने विवाहले विशेषगरी किशोरीको शारीरिक, मानसकि तथा सामाजिक जीवनका विविध पक्षमा नकारात्मक असर पुग्दछ । सानै उमेरमा विवाह गरेका कारण किशोरावस्थामै गर्भवती भएर आमा बन्नुपर्दा आमा र शिशु दुबैको ज्यान जोखिममा पर्ने गरेको छ । बालविवाह र किशोरावस्थामै आमा बन्नुपर्दा सामाजिकरुपमा अपहेलना भोग्नुपर्ने समस्या रहन्छ । सानै उमेर भएकाले घर व्यवहार धान्न नसक्दा र सुत्केरी भएपश्चात् ध्यान दिनुपर्ने विषयलाई नबुझ्दा विविध समस्यामा पर्नुपर्ने भएका कारण यो चुनौतीपूर्ण बन्दै गएको छ । बालविवाह र किशोरी आमाको समस्या अन्त्य गर्न सचेतना नै महत्वपूर्ण उपाय हुनसक्छ ।