कैलाश गाउँपालिका अध्यक्ष टंक मुक्तानलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुहुँदै नेता बानियाँ ।

हेटौंडाः बागमती प्रदेश सभाका प्रमूख प्रतिपक्षी दलका नेता, कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले मकवानपुरको पश्चिमी क्षेत्रस्थित कैलाश गाउँपालिका पुग्नुभएको छ । आज कैलाश गाउँपालिका पुगेर नेता बानियाँले यसअघि घोषणा गर्नुभएअनुरुप कोरोनाविरुद्धको अभियानका लागि २ लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।
कैलाश गाउँपालिका अध्यक्ष टंक मुक्तानलाई गाउँपालिकाको विपद व्यवस्थापन कोषमा जम्मा गर्ने गरी नेता बानियाँले चेक हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरण तथा क्वारेन्टाईन वार्ड निरीक्षणको क्रममा नेता बानियाँले मकवानपुरकै विकट मध्येको एक कैलाश गाउँपालिकामा स्वास्थ्य सामाग्रीहरुको अभाव देखिएकोले महामारीको प्रकोपबाट बच्न चाहिने स्वास्थ्य सामाग्रीहरु तत्काल उपलब्ध गराउन संघीय सरकार तथा प्रदेश सरकारलाई ध्यानाकर्षण गराउनुभयो । नेता बानियाँले राहत वितरणमा विभिन्न स्थानहरुमा राजनीतिकरण भैरहेको सुनिएकोले यो विपतको बेलामा हुनेखाने र विपन्न पहिचान गरेको गाउँपालिकाले निष्पक्षरुपमा एकद्वार प्रणालीबाट खाद्य सामाग्रीहरु वितरण गर्न आग्रह गर्नुभयो । कार्यक्रममा संघीय सांसद विरोध खतिवडा र बागमती प्रदेशसभा सदस्य ओम घलानको पनि उपस्थिति रहेको थियो ।
कैलाश गाउँपालिका अध्यक्ष मुक्तानले आफूले गाउँपालिकाको विभिन्न ४ स्थानमा क्वारेन्टाइन वार्ड राख्ने प्रयास गरेपनि स्वास्थ्य सामाग्री अभावका कारण अप्ठ्यारो परेको बताउँदै विपद व्यवस्थापन कोषमा रकम हुँदाहुँदै पनि स्वास्थ्य सामाग्रीहरु खरिद गर्न नसकिएको बताउनुभयो ।