हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई सहयोग रकम हस्तान्तरण गरिँदै ।

हेटौंडाः जारी लक डाउनका बेला विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गर्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरले हेटौंडा उपमहानगरपालिकालाई २ लाख १ हजार १ सय ५५ रुपैयाँ सहयोग गरेको छ । प्याव्सन मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदीले आज हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई नगद रकम हस्तान्तरण गर्नुभएको छ ।
प्याव्सनमा आवद्ध विद्यालयबाट संकलित सहयोग रकम उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको प्याव्सन मकवानपुरका कार्यवाहक अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । प्याव्सनले उपलब्ध गराएको सहयोग रकमबाट उपमहानगरपालिकाले तयार पारेको मापदण्डका आधारमा खाद्यान्न वितरण गर्न उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई आग्रह गरिएको उहाँले बताउनुभयो । रकम हस्तान्तरण कार्यक्रममा प्याव्सनका केन्द्रीय सदस्य मदन कुमार दाहालसहित मकवानपुरका पदाधिकारीको उपस्थिति रहेको थियो ।