जुनदिन व्यक्ति, परिवार, समाज, गाउँ–घर, सहर–बजार अनि सम्पूर्ण देश विध्वंसी विकृतिबाट मुक्त हुन्छ, त्यस दिन वडो आनन्द, हर्ष र मज्जाले रमाउँछु । अनि आफ्नो खुसी सर्वत्र बाँड्दै प्रफुल्ल मुद्रामा नाच्छु, गाउँछु, उफ्रिन्छु भन्दै स्वर्गीय आनन्द सबैमा पुर्याउने स्वप्निल सपना मनमा सजाउँथेँ म ।
हिमालको नोर्गे शेर्पा, पहाडको बिर्खे कामी र तराईको जोगिन्दर मुसहर साथै गरिब आइते माझी, हर्षित दुसाद, रामकृष्ण बाजे, नरे क्षेत्री, रिट्ठे लिम्बु, हरिहर श्रेष्ठलगायतका घरहरुमा उज्यालो छिरेको दिन मेरै गाउँका रखाल दाइ, हडबडे साइँलो अनि मलाई साह्रै माया गर्ने गाउँलेहरुसँग तीनपानेमा रमाउँदै भन्नेछु, हेर साथी हो, हामीले भनेको र खोजेको जस्तो दिन यही हो ।

जुनदिन छिमेकी टुल्की बेचिन छोड्छे, जगर्सेठहरुले अबोध साहिलीको अस्मिता लुट्दैनन््, दिउँसै माहिली तामाङ बलात्कृत हुनु पर्दैन, कपोलकल्पित, झुठा आरोपमा सिधा–साधा गरिब महिलाहरु बेक्सीको लाञ्छानाले प्रताडित हुनु पर्दैन र छोरी–चेलीहरुले निर्धक्क भएर हिँड्न पाएको कथा, समाचार जताततै सुन्न पाएको दिन म जे जस्तो सक्छु आफ्नै घरमा साथीभाइहरु बटुलेर घनघोर उत्सव मनाउँदै हर्षका गीत गाउने छु ।
अनुपम प्राकृतिक सुन्दरता र छटाले भरिएको मेरो देशमा भीषण भ्रष्टाचार र भ्रष्टाचारीबाट मुक्ति पाएको सुन्न पाउँदा ! अन्याय, अत्याचार, व्यभिचार, दुराचार, बेथिति, बेकाइदा, नातावाद र कृपावादले डाँडो काट्दा ! आफ्ना सिर्जनशील हातहरुले बाँझो भूमिलाई उर्वर बनाउँदै यहाँका युवाले कृषिक्रान्ति गरेको देख्न पाउँदा ! कर्मठ अनि दक्ष जनशक्तिले देश शृङ्गारेर झलमल्ल बनाउँदा साथै गाउँ–घरलाई नै शून्य पारेर दिनहुँ बाहिरिएका आफ्ना सन्तति देखेर देशले आँशु नझार्दा वास्तवमै म धेरै हर्षित हुँदै हर्षका गीत गुनगुनाउने छु ।
तर विडम्बना मैले गाउने हर्षका गीतको पालो अहिलेसम्म आएन । कयौं सूर्योदय र सूर्यास्त भए, दिन–महिना हुँदै वर्षौं बिते तर मैले उन्मत्त भएर खुसी साट्ने दिन फर्केन । झन् विध्वंसी विकृति अकासिँदो छ, रामराज्यको सपना मानिसले देख्न छाडे । भ्रष्टाचारले गगनचुम्बी सगरमाथाको चुचुरो चुम्न लागेको छ । भ्रष्टाचारी, बलात्कारीहरु उन्मादी खुसी साटिरहेका छन् । रक्तपिपासु दानवरुपी मानव भनाउँदाहरु आफूलाई दधिचि र हरिशचन्द्रको छद्म रुप बनाई हिँडिरहेका छन् । गाउँमा टुल्कीहरु बेचिन छाडेका छैनन् । अवोध माहिलीहरु दिनहुँ लुटिएका छन् । रामकृष्ण बाजेहरु दिउँसै छोरी बलात्कृत भएर मारिँदा डाँको छाडेर रोई–रोई न्यायको भीख माग्दै हिँडेका हिँड्यै छन् । हर्षित मुसहर र जोगिन्दर दुसादको भोको पेट र नाङ्गो आङ ढाकिएको छैन । आकाशका चारैदिशा अझै काला बेथितिरुपी गिद्धहरु मडारिँदै कुपोषणले अस्थीपञ्जर बनाएकाहरुको मृत्यु कुरिरहेका छन् । छत्र राजवंशीको तारामण्डली छानो जस्ताको तस्तै छ । निरपराध बोक्सीको आरोपमा मानव विष्टा खुवाइएका गरिब, निरीह महिलाहरु अझै ठाउँ–ठाउँमा भीषण प्रताडनमा परेकापरै छन् । अफसोच मेरो जीवनको अब चौथाई हिस्सा मात्र बाँकी छ । के साँच्चै नै मैले आफ्नो जीवनमा हर्षका गीत गाउन पाउँला त…….?
अहिले जगत्मै मानव सङ्कट निम्तिएको छ । कोरोनारुपी नरभक्षी व्याधिबाट विश्वभयग्रस्त छ । मानव अस्तित्व नै समाप्त हुने हो कि भन्ने प्रश्न अनुत्तरित छ । यस्तो बेला आफूसँग भएको सम्पत्ति त मानव कल्याणमा लगाउनु पर्ने बेलाआएको छ, तर बाहिरबाट किनेर ल्याउन लागिएको औषधिजन्य उपकरणहरुमा पनि कमिशन र भ्रष्टाचारका समाचारहरु सर्वत्र फैलिँदा लाग्छ, विचार र विवेकशून्य शासकहरुद्वारा शासित भएर हामी मृततुल्य जीवन बाँचिरहेका छौँ ।
यस्तो संस्कार र संस्कृति बोकेर आएकाहरुबाट सुदिनको कल्पना गरेर हर्षका गीत गाउने मेरो स्वपनिल सपना विपनामा रुपान्तरित हुनु भनेको आकाशको फल नै थियो । उज्यालो देख्ने मेरो सपना सपना नै रह्यो । फेरि अन्धकार भयङ्कर रुप लिएर उपस्थित हुँदै थियो । अनिष्ट विश्व मानवअघि दिनहुँ विशाल नरभक्षीका रुपमा खडा थियो । गोधुली साँझले सूर्यास्तको सङ्केत गरिरहेको थियो । म एकटकले पर क्षितिजमा ओरालो लागिरहेको अस्ताउँदो सूर्य हेरिरहेको थिएँ ।
(लेखक हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा नेपाली भाषा, साहित्यको शिक्षक हुनुहुन्छ ।)