वडामा वितरणका लागि चामल लोड गर्दै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आफ्नै बजेटबाट नगरका विपन्न परिवारलाई राहत सामग्री वितरण सुरु गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले आव्हान गरेको लक डाउनका बेला नगरका विपन्न परिवारको गुजाराका लागि उपमहानगरपालिकाले आज ४ नम्बर वडामा एक सय ५० परिवार र १८ नम्बर वडामा ३ सय ५० परिवारका लागि राहत वितरण गरिएको उपमहानगरपालिकाको कार्यालयले जनाएको छ । अन्य वडामाहरुमा निरन्तर रुपमा राहतका सामाग्री पठाइने उपमहानगरपालिकाले जानकारी दिएको छ ।
हालसम्म हेटौंडा उपमहानगरका वडा कार्यालयहरु मार्फत ५ हजार ७१ परिवारका लागि राहत आवश्यक भएको भन्ने विवरण प्राप्त भएको पनि उपमहानगरपालिकाको कार्यालयले जनाएको छ । हेटौंडा उपमहानगरका १९ वटै वडाका दैनिक ज्यालादारी गर्ने मजदुर परिवारलाई प्रतिपरिवार १५ केजि चामल, २ केजि दाल, २ लिटर तेल, १ पाकेट नुन र १ नुहाउने साबुन ४ वटा वितरण गर्नेछ । उपमहानगरपालिकाले ९० टन चामल, १२ टन मसुरोको दाल, ६ टन नुन, १२ हजार लिटर सूर्यमुखी तेल र २४ हजार थान साबुन खरिद गर्न हिजो सम्झौता गरेको छ ।
यसअघि हेटौंडा उपमहानगरपालिकाले पहिलो चरणमा हालसम्म ३ हजार १ सय १८ परिवारलाई राहत वितरण गरेको जनाएको छ । उपमहानगरपालिका र विभिन्न संघ, संस्थाको सहयोग एवम् सहकार्यमा हालसम्म नगरका १९ मध्ये १४ वटा वडामा राहत वितरणको कार्य भएको उपमहानगरपालिकाले जनाएको छ । पहिलो चरणमा वडा नम्बर २, ५, ८, १२ र १५ नम्बर वडामा राहत वितरण नभएको उपमहानगरपालिकाको भनाइ छ ।