आज बिहान रक्तसञ्चार केन्द्र हेटौंडामा कुराकानी गरिरहेका थियौं । लक डाउनका बेला रगतको माग र त्यसको व्यवस्थापन कस्तो भइरहेको छ भनेर रक्तसञ्चार केन्द्रका प्रमुख टंक दाहाल, प्राविधिक विष्णु रिमाल, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका मन्त्री रामजी सापकोटा, कार्यालय प्रमुख लक्ष्मण भण्डारीसँग कुराकानी गर्दै थिएँ । एक्कासी एक बालक आएर अंकल आज मेरो ह्याप्पी बर्थडे भन्दै टंक दाहाललाई चकलेट दियो । ती बालकलाई नचिनेको जस्तो गरी कसको ह्याप्पी बर्थडे बाबु भन्दै टंक दाहालले भन्नुभयो । बालकले तत्कालै जवाफ दियो, ‘मेरै बर्थडे ।’
ती बालकले चकलेट राखेको प्लास्टिकको झोलामा पैसा पनि थियो । रक्तदान गर्न भनेर आएका साथी उमेश थापा मगरले फ्याट्ट भने, ‘यो केटाहरु वर्थडे भन्दै सधैं चकलेट बाँड्दै हिँड्छ ।’ उमेशको कुरा सुनेपछि आश्चर्य लाग्यो अनि ती बालकसँग कुरा गरेँ । हेटौंडा–१०, बसपार्कमा कोठा भाडामा बस्ने बताउने बालकले आफ्नो नाम सुजन गुरुङ हो भने । अनुहार हेर्दा त गुरुङ जस्तो देखिँदैन त भनेँ । उसले गुरुङ नै हो भन्यो । बुबा र आमाको थर भन त भनेको ती बालकले आमा गुरुङ, बुबा घिमिरे हो भन्यो ।
बुबा घिमिरे भए त तिम्रो थर पनि त घिमिरे हुनुपर्ने होइन र भनेको मात्रै के थिएँ, फ्याट्ट ती बालकले भने, ‘बाबाले खाली पिट्नु हुन्छ त्यसैले आमाको थर जोड्छु ।’ एक महिना अघि मात्रै काठमाडौंबाट हेटौंडा आएको बताउने सुजनले विद्यालय नजाने गरेको बताए । पैसा कमाउन दैनिक जन्मदिनभन्दै बजारमा चकलेट बाँड्ने गरेको र कसै कसैले पैसा दिने गरेको सुनाए । एकै दिन पाँच सय रुपैयाँसम्म कमाएको सुनाउँदै सुजनले आफू र अर्का एकजना साथी हरेक दिन जन्मदिन भन्दै बजारमा चकलेट बाँडेर हिँड्ने गरेको सुनाए ।