सामाजिक विकास मन्त्री यूवराज दूलाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिँदै ।

हेटौंडाः नेपाल भारत मैत्री संघको समन्वयमा विभिन्न संस्थाको सहयोगमा हेटौंडा अस्पताललाई आज स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । हेटौंडा अस्पताललाई १० सेट आइसीयु बेड, २ सेट अक्सिजन कन्ट्र्याक्टर, २ सय सेट पीपीई हस्तान्तरण गरिएको हो । करिब ४५ लाख रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री आज बिहान नेपाल भारत मैत्री संघका अध्यक्ष राजकुमार सिन्धीले बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री यूवराज दूलाललाई हस्तान्तरण गर्नुभयो ।
नेपाल भारत मैत्री संघको समन्वयमा नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, लाइफ इन्स्योरेन्स कम्पनि नेपाल, एसियन पेन्टस् र बर्जर पेन्ट्सको सहयोगमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । हेटौंडा अस्पताललाई प्राप्त स्वास्थ्य सामग्री महत्वपूर्ण र उपयोगी भएको उल्लेख गर्नुहुँदै हेटौंडा अस्पतालका बालरोग विशेषज्ञ डा. हरिबहादुर खड्काले कोरोना भाइरसको रोकथामको अभियानका साथै भोलिका दिनमा हेटौंडा अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन पनि प्राप्त सामग्री उपयोगी हुने बताउनुभयो । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सहयोगी संस्थाका प्रतिनिधिका साथै हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल, अस्पताल प्रमुख डा. प्रविण श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।