हेटौंडाः हेटौंडा ४ स्थित श्रमिक सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय उद्घाटन गरिएको छ । श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच एकीकरण पश्चात् संयुक्त कार्यालय उद्घाटन गरिएको हो ।
सहकारीका अध्यक्ष नवराज अर्यालको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा कार्यालय उद्घाटन गरिएको हो । कार्यक्रममा सहकारीका कोषाध्यक्ष वीरेन्द्र प्रसाद ढुंगानाले सहकारीको आर्थिक अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । कोषाध्यक्ष ढुंगानाका अनुसार सहकारीको कुल कारोबार २३ करोड ७६ लाख रुपैयाँ रहेको छ । २ हजार १ सय ९९ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी ३ करोड ५८ लाख रुपैयाँ, बचत १५ करोड १८ लाख रुपैयाँ, ऋण लगानी १८ करोड ५१ लाख रुपैयाँ रहेको कोषाध्यक्ष ढुंगानाले जानकारी दिनुभयो ।
कार्यालय उद्घाटनसँगै सहकारीले नगरप्रमुख मीना कुमारी लामा, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, २ नम्बर वडा अध्यक्ष विष्णु गोपाल महर्जन, ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, सदस्य जगन्नाथ पाण्डे, ९ नम्बर वडा अध्यक्ष सुकराम केसी, ११ नम्बर वडा अध्यक्ष जुना दाहाललाई सम्मान गरेको थियो । कार्यक्रममा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटा, हेटौंडा उपमहानगरपालिकाको सहकारी विभागका प्रमुख हिमप्रसाद पौडेलको पनि उपस्थिति रहेको थियो ।