हेटौंडाः अखण्ड हरिकीर्तन मन्दिरको वार्षिक उत्सव तथा साधारणसभा सोमबार सम्पन्न भएको छ । हेटौंडा–१०, सीमाचोकस्थित हरिकीर्तन मन्दिरको ४२ औं वार्षिक उत्सव तथा ३० औं साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा हरिकीर्तन मन्दिरका कोषाध्यक्ष गोकर्णप्रसाद कोइरालाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । गत आर्थिक वर्ष २०७८/०७९ मा मन्दिरले ५ लाख ३९ हजार ९ सय ३८ रुपैयाँ आम्दानी र ४ लाख १९ हजार ४ सय ८४ रुपैयाँ खर्च गरेको कोषाध्यक्ष कोइरालाले जानकारी दिनुभयो । मन्दिरको अक्षयकोषमा ३६ लाख ७७ हजार ४ सय ६ रुपैयाँ जम्मा भएको छ । मुल अक्षयकोषमा ३४ लाख ६५ हजार ९ सय १५ र नारायणधार अक्षयकोषमा २ लाख ११ हजार ४ सय ९१ रुपैयाँ जम्मा भएको कार्यक्रममा जानकारी दिइएको हो । अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ सम्म करिब २७ लाख २७ हजार रहेको मन्दिरको मुल अक्षयकोष गत आर्थिक वर्षको अन्त्यसम्म ३४ लाख ६५ हजार पुगेको छ ।

मन्दिरले ७ लाख ६७ हजार ५ सय रुपैयाँ मुद्दति खातामा राखेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । विभिन्न वित्तीय संस्था तथा सहकारीमा राखिएको अक्षयकोष तथा मुद्दति खाताबाट मन्दिरले गत आर्थिक वर्षमा ४ लाख २४ हजार ब्याज आम्दानी गरेको छ । अखण्ड हरिकीर्तन मन्दिरका अध्यक्ष ओमबहादुर कटुवालको सभाध्यक्षतामा भएको कार्यक्रममा ॐ शान्ति हेटौंडाकी सुशीला दिदी तथा मन्दिरका पदाधिकारीहरुले मन्तव्य व्यक्त गरेका थिए । अखण्ड हरिकीर्तन मन्दिरमा प्रत्येक दिन हवन, आरती, पूजा हुने गरेको छ । मन्दिरले कृष्ण जन्माष्टमी उत्सव तथा झुलन महोत्सवसमेत नियमितरुपमा गर्दै आएको छ ।