हेटौंडाः हेटौंडामा कोरा साइकल र्याली हुँदैछ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी कोरा साइकल र्यालीको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।
हेटौंडा राइडर्स क्लबको आयोजनामा हुने र्याली शनिबार बिहान ७ बजे हेटौंडा १० स्थित भुटनदेवी मन्दिर परिसरबाट सुरु हुने जनाइएको छ । हेटौंडा राइडर्स क्लबका अध्यक्ष तथा कार्यक्रम संयोजक विकास ताम्राकारले साइकल र्यालीको माध्यमबाट देश, सहर, समाज र व्यक्तिकोे भावनालाई जोड्न मद्दत गर्ने बताउनुभयो । कार्यक्रम विगतमा जस्तै हेटौंडाको धार्मिक तथा पर्यटकीय क्षेत्रको परिक्रमा गरी सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।
हेटौंडाको भुटनदेवी मन्दिर परिसरबाट सुरु भई फरेष्ट्री, हुप्रचौर, पारिजात पथहुँदै कान्तिराज पथ, बुद्ध चोकबाट चौकी टोलहुँदै वन कार्यालय, मनकामना चोक, पिप्ले, फुर्केचौर, गुम्बाडाँडा हुँदै हेटौंडा औद्योगिक क्षेत्र र पुनः कर्रा हुँदै बुद्ध चोकमा पुगेर कार्यक्रम समापन हुने जनाइएको छ । कार्यक्रममा चितवन, बारा, पर्सा जिल्लाका साइकल राइडरहरु गरी करिब २ सय जना सहभागी रहनेछन् । कार्यक्रम सञ्चालनका लागि ३ लाख ७० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।











