कोदो दिवसको अवसरमा कोदो रोप्दै ।

हेटौंडाः राष्ट्रिय कृषक समूह महासंघको आयोजना तथा अनाज नेपाल र छवेली कृषक समूहको सहकार्यमा भीमफेदी गाउँपालिका–५, छबेलीमा “कोदोको योगदान, खाद्य तथा पोषण सुरक्षामा बरदान” भन्ने मूल नाराका साथ दोश्रो कोदो दिवस मनाइएको छ ।

महासंघका अध्यक्ष नवराज बस्नेतको सभाध्यक्षता तथा राष्ट्रिय समावेशी आयोगकी सदस्य विष्णू ओझाको प्रमुख आतिथ्यमा कोदो दिवस कार्यक्रम भएको हो । कार्यक्रममा राष्ट्रिय किसान आयोगका सदस्य एवम् प्रवक्ता जीवन्ती पौडेलको पनि आतिथ्य रहेको थियो । कार्यक्रममा भीमफेदी गाउँपालिका–५ का वडाध्यक्ष जहार सिं लामा, ६ का वडाध्यक्ष सोम बहादुर घलान, महासंघका संस्थापक अध्यक्ष उद्धव अधिकारी, अनाज नेपालका प्रतिनिधी भीमफेदीका कृषकहरु लगायतका सहभागिता रहेको थियो ।

कार्यक्रममा कोदो खेती यसको महत्व र उपयोगिताको विषयमा कृषि विज्ञ छवि पौडेलले जानकारी गराउनुभएको थियो । महासंघका महासचिव रिता बस्ताकोटीले संचालन गरेको कार्यक्रममा छवेली कृषक समूहका सदस्य दिपक पुडासैनीले स्वागत मन्तव्य राख्नुभएको थियो । कोदो दिवसको अवसरमा मकवानपुरगढी गाउँपालिकाले कोदो खेती प्रवर्द्धन र विविधीकरणको क्षेत्रमा गरेको प्रयासहरुको विषयमा कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी गराउनुभएको थियो ।