संप्रस पौडेल

तीजमा सासु र बुहारीको आरोप, बुहार्तनका पीडाका गीत घट्न थालेजस्तो कतिपय व्यङ्ग्य लोपोन्मुख नै हुन लागिसकेको छ । आजकाल केटाहरुले लगाउने च्यातिएका, धुजा परेका कपडाहरु र केटीहरुले लगाउने छोटा कपडाबारे खासै व्यङ्ग्य सिर्जना हुन छोडेका छन् । सहजै स्वीकार भैसकेका श्रृंगारमाथिको व्यङ्ग्य घट्दोक्रममा छ । त्यसो त अलीअघिसम्म यस्ता व्यङ्ग्यले निकै चर्चा पाउने गरेको थियो । आजकल यसको दायरा बढेको छ । एकछिन ल स्तम्भको ३०औं श्रृंखलामा केही कविका नयाँ पूराना हास्यव्यङ्ग्य कविताहरुको झटारो प्रस्तुत गरिन्छ ।

यसै सन्दर्भमा कवि लोकराज पराजुलीले सभ्यता शीर्षकको मुक्तकमा यसरी चर्चा गर्नु भएको छः

सभ्यता सहरमा निकै बढेछ, गाजल ओठमा सरेछ,
लालीले परेलीमा घस्रिनु परेछ, कपाल गड्ययौलिएछ,
छातीमा लाज ढाक्ने कपडा चार औंला अरु तल झरेछ
नाईटोले पो दुरबिन बनेर सभ्यताको अध्ययन गरेछ ।

एकै व्यक्ति साधु पनि यौन हिंसाको नाइके पनि । तब न भारतमा लाखौं पिछलग्गु भक्त भएका कतिपय बाबा, माता कहलिनेहरु आज जेलमा थुनिएका छन् । नेपालमा पनि अदालतमा मुद्दा चलिरहेकै अवस्थामा ठूला ठूला महायज्ञमा विराजमान भएका कुराहरु समाचारमा पढ्न पाइएकै छ । अपराधी पनि न्यायाधीश पनि । दूराचारी पनि सदाचारी पनि । प्रमाण मेटाउने पनि जुटाउने पनि । चोर पनि पुलिस पनि । एकै व्यक्तिमा पाइने बहुगुणबारे कवि बलदेव पोखरेल यसरी कवितामार्पmत् लुट्न सक्नेहरुले अनेकन भेषमा लुटिरहेकाबारे व्यङ्ग्य गर्नुहुन्छः

बनेर नाग रातमा गरीबलाई डस्दछ ।
बिहान साधु–भेषमा उ रामनाम जप्दछ ।।
बनेर सिंह स्यालले रजाइ गर्न पाइने ।
छ पर्व लूटको हरे सबै लुटे पनि हुने ।।

आजकाल धर्म, मानिने चालचलनमा पनि फरकपन आएको छ । बिहे, व्रतबन्ध, चाडपर्व ज्यादा खर्चिलो, भड्किलो हुँदै गएको छ । त्यसो त थुप्रै परिवर्तन पनि भएका छन् । समयको क्रममा ब्राह्मण बाहेक अन्य जातिले वेद पढ्ने, कुनै बेला निश्चित जातिले मात्र गर्न हुने भनिएको कामहरु अन्यले पनि गर्ने जस्ता परिवर्तन आएका छन् । विदेशीसँग बिहे गर्दा, खानपानमा जातको कुरा नहुने तर आफ्नै देशमाचाहीँ अनेकन जात र छुवाछुतको व्यवहार हुने जस्ता तुलनाले पनि बिस्तारै जातीय व्यवस्थाका तगारोहरु भत्किन थालेका छन् । यसैक्रममा जातीय कर्ममध्ये ब्राह्मणको चिनारी छोड्दै गएका ब्राह्मणमाथि यसरी व्यङ्ग्य गर्नुहुन्छ गदाधर पौडेलः

टुप्पी कता गयो बाजे, बेपत्ता भो जनै किन ?
गायत्री मन्त्र औ दीक्षा जप्दैनौ किन दिनदिन ?
पूजा पाठ कुनै छैन टीका छैन निधारमा
लंगौटी कन्धनी छैन, पाइएन बजारमा ?

युवाको ध्वनीमा सोधिएको यस प्रश्नको प्रतिउत्तर वृद्ध ब्राह्मणको रुपमा कवि यसरी दिनुहुन्छः

टुप्पी पाल्नु जनै हाल्नु यो यौटा रुढिवाद हो
पूजा औ ब्रह्म, चिन्तादि यो पलायनवाद हो ।
पछौटे, चिन्ह हुन् हाम्रा कौदी र कटि–मेखला
यन्त्रको युगमा गर्छौ मन्त्रको तन्त्रको कुरा ।

धीरेन्द्र प्रेमर्षि प्यारोडी गायन, हास्यव्यङ्ग्य सिर्जनामा चर्चित नाम । गीतकार, गजलकार, पत्रकार र संस्कृतिविद् प्रेमर्षि गरीबसँग बी.पी. शीर्षकको

कवितामा यसरी भाव व्यक्त गर्नुहुन्छः
जनतन्त्रे जन्तीलाई जागेको छ खाँडो
ठगी खाने, मागी खाने मिलेको छ भाँडो
नाम मात्र लियो कि त मोती झार्ने सीपी
धनीसँग डल्लै हामी गरीबसँग बीपी ।

नेपाली हास्यव्यङ्ग्य साहित्यमा निरन्तर रचना गरिराख्ने महिला साहित्यकारहरु एकै हातका औंलामा अटाउने मात्रै छन् भन्दा निकै दुखको कुरा छ । हरिकला उप्रेती र गायत्री परिरोशनी निरन्तर हास्यव्यङ्ग्य सिर्जनामै हुनुहुन्छ । यो क्षेत्रका एकाध महिला श्रष्टाहरु एकाध रचनामै सीमित छन् । यही क्रममा कलीका नारद मुनिलाई मूख्य पात्र बनाई सरस्वती पोख्रेल लिखित कलिका छलि शीर्षकको कवितांश यहाँ प्रस्तुत गरिएको छः

आफू जस्तै नयाँ जोश जवानी बैंशका छिटा
ठुटे वीणा लिई नाच्ने देखेछन् कुण्डले ठिटा ।।
सोधपूछ चिनाजानी मित्रता खूब पन्पियो ।
पाँचतारे अटालीमा डान्स नित्य हुनेभयो ।।
सुराका तालमा बज्छन् डंकाढूँम मिठामिठा ।
संगीत पपको चल्थ्यो झर्दथे नोटका बिटा ।।

धर्मयुगका नारद र गितार बोकेर धुवाँ उडाउँदै पप, हिपहपमा रमाइरहेका युवाहरुमाथि व्यङ्ग्य गर्दै लेखिएको यस कविता कविको हास्यव्यङ्ग्यचेतको चरम नमुना कविता हुनुपर्छ ।

चुनावअघि हात जोड्दै ढाड सड्केर आउने, चुनावपछि तर्केर हिँड्ने, बोलाउँदा कड्केर बोल्ने सामाजिक अभियन्ता मान्ने पड्केहरुलाई राजनीतिक छड्केका रुपमा आफ्नै कविताका एक टुक्रा पेश गर्दै विदा हुन्छु ।

माला लगाउन मन हुन्छ उहाँलाई
जति नै किलोको भैदियोस् ।
जुत्तैको किन नहोस् तर
भिर्दा सजिलो भैदियोस् ।।
जय सिस्नुपानी ।

(लेखक सिस्नुपानी मकवानपुरमा आबद्ध हुनुहुन्छ ।)