सेवा केन्द्रको उद्घाटन गर्दै जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ ।

हेटौंडाः हेटौंडा–७, नागस्वतीस्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हेटौंडा बजार क्षेत्रलाई लक्षित गरी हेटौंडा–२, हरिकुञ्जरोडमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । सोमबार बिहान सेवा केन्द्रको उद्घाटन गरिएको हो ।

सेवा केन्द्र उद्घाटन कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ, सहकारीका अध्यक्ष ईन्द्र बहादुर बस्नेत, सहकारीका पदाधिकारी, व्यवस्थापक रामशरण गौतमको पनि उपस्थिति रहेको थियो ।

यसअघि हेटौंडा बचतले हेटौंडा–८, कमाने र हेटौंडा–१६, हटियामा सेवा केन्द्र विस्तार गरिसकेको छ । हेटौंडा बचतका १ सय ५० भन्दा बढी सेयर सदस्य हेटौंडा बजार क्षेत्रमा रहेको र सेवा केन्द्र विस्तारसँगै ती सदस्यले सहजै सेवा प्राप्त गर्नुका साथै सेयर सदस्य विस्तार हुने सहकारीका अध्यक्ष ईन्द्र बहादुर बस्नेतले बताउनुभयो ।

हेटौंडा बचतको अहिले ६ हजार १ सय ७३ जना सेयर सदस्य छन् । सहकारीको सेयर पुँजी ४ करोड, बचत संकलन ४७ करोड ५० लाख, ऋण लगानी ५६ करोड रहेको हेटौंडा सेवा केन्द्रका प्रमुख सुशील सुवेदीले जानकारी दिनुभयो ।