हेटौंडाः हेटौंडा–१८, खड्कुलेमा रहेको मकवानपुर बाल विद्या सदन (एमबीबीएस) ले विद्यालय संचालन प्रणाली सम्बन्धी एक दिने कार्यशाला तथा कप्तान प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको उपस्थितिमा विद्यालयले तयार गरेको विद्यालय संचालनका १० प्रणालीहरुको बारेमा जानकारी दिन तथा कार्य संचालनमा स्पष्टता र सहजता ल्याउने उद्देश्यले कार्यशालाको आयोजना गरिएको विद्यालयका सह–प्रधानाध्यापक प्रशान्तराज गिरीले बताउनुभएको छ ।
शनिबार भएको कार्यक्रममा विद्यालयको सूचना व्यवस्थापन प्रणाली, परीक्षा प्रणाली, शैक्षिक प्रणाली, सुरक्षा प्रणाली, यातायात संचालन प्रणाली, कक्षा व्यवस्थापन प्रणाली, एसेम्ब्ली तथा चौर व्यवस्थापन प्रणाली, अतिरिक्त क्रियाकलाप व्यवस्थापन प्रणाली, मानव संसाधन व्यवस्थापन प्रणालीका बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा विभिन्न विषयका विभाग गठन गर्नुका साथै विभाग प्रमुख र तह संयोजकहरु समेत चुनिएको थियो । पूर्व प्राथमिक तह संयोजकमा ज्योति दाहाल, प्रावि तह संयोजकमा सुस्मिता श्रेष्ठ, आधारभुत तह संयोग तथा नेपाली विभाग प्रमुखमा विधान आचार्य, मावि तह संयोजक तथा विज्ञान विषय प्रमुखमा प्रशान्तराज गिरी, अंग्रेजी विभाग प्रमुख तथा अतिरिक्त क्रियाकलाप संयोजकमा सिर्जना थापा मगर, परीक्षा संयोजक तथा गणित विषय प्रमुखमा विद्या गिरी तथा सामाजिक विषय प्रमुखमा सुदिपराज गिरी चयन हुनुभएको छ ।
कार्यक्रममा जेष्ठ २७ गते विद्यालयमा भएको निर्वाचनबाट चुनिनुभएका सम्पूर्ण क्याप्टेनहरुलाई समेत वैठक व्यवस्थापन, अनुशासन, जिम्मेवारी, व्यक्तित्व विकासका सम्बन्धमा प्रशिक्षण गरिएको थियो । विधान आचार्यले अनुशासन, सुस्मिता श्रेष्ठले बैठक व्यवस्थापन, सिर्जना थापा मगरले जिम्मेवारीको महत्व तथा सुदिपराज गिरीले कार्य व्यवस्थापन र व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमको विषयमा विद्यालय व्यवस्थापन समिति सदस्य पुरुषोत्तम अधिकारी तथा कल्पना कुइँकेलले समेत आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।











